|  

‘रिगल डन’ को आममाफीले काँग्रेस र राष्ट्रपति आलोचनाको केन्द्रमा 

१७ असोज, काठमाडौं । गुण्डा नाइके अर्थात जघन्य अपराधमा थुनामा रहेका योगराज ढकाल (रिगल) लाई आममाफी दिएपछि यतिबेला नेपाली कांग्रेसका पार्टी पंक्ति र नेता मात्र हैन, राष्ट्रपति रामचन्द्र पौडेल समेत विवादमा मुछिएका छन ।

एकातिर रिगल डनलाई आममाफी दिएर विवादमा तानिरहेको काँग्रेस अर्कोतिर तस्करीको सुन ओसार्ने गाडी भएका विकास लामालाई पक्राउ गर्न नदिँदा आलोचनाको केन्द्रमा छ । काँग्रेस सभापति शेरबहादुर देउवालाई पनि पैसा खाएर रिगललाई आममाफी दिलाएको आरोप लागेको छ । यहि असोज ३ गते बुधबार संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पोडेलले ६ सय ७० जनालाई आममाफी दिएका थिए । त्यस दिन नेपालगन्जमा दिनदहाडै खुडा प्रहार गरी व्यक्ति हत्यामा आजीवन काराबास सजाय भोगिरहेका योगराज ढकाल अर्थात ‘रिगल डन’ पनि थुनामुक्त भए । उनी जेलबाट निस्कदा अपराध कर्मबाट माफी पाएजस्तो नभएर महान राजनीतिक बन्दी मुक्त जसरी नै स्वागत गरिएको थियो ।  रिगल उक्त घटना हुँदाका बखत नेपाली कांग्रेसको युवा संगठन तरुण दलमा आवद्ध समेत थिए । त्यतिबेला रिगलमाथि नेपालगन्जमा रहेर विभिन्न गैरकानुनी क्रियाकलापमा संलग्न हुदै आएको समेत आरोप लाग्ने गरेको थियो ।

यस घटना अघि पनि ‘रिगल’ ले कोहलपुरका एक ब्यवसायी सन्तोष गोरेलाई गर्धनमा खुकुरी प्रहार गरेका थिए । त्यतिमात्र हैन, ‘रेगल’ले अर्को एक ब्यक्ति मुनाल भन्नेको समेत औला काटिदिएका थिए । यस्तो ब्यक्तिलाई आममाफी दिएर राष्ट्रपतिले उसको हिंस्रामक गतिविधिमा झन बढवा दिएका छन् । यतिबेला परिवार मात्र हैन् त्यहाँका नागरिक समेत त्रसित बनेका छन् ।

२०७२ साल असार २८ गते नेपालगञ्ज-८ का २९ वर्षिय चेतन मानन्धरको दिनदहाडै हत्या भयो । चेतनमाथि सुर्खेतरोडस्थित धम्बोझी चोकमा दिउँसो ३ बजेतिर खुँडा प्रहार भएको थियो । चेतनको नेपालगन्जमा उपचार असम्भव भएपछि थप उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको थियो । सो घटनामा चर्चीत गुण्डा नाइके रिगल भनिने योग ढकालको समूहको संलग्नता थियो । अनुसन्धानको क्रममा रिगल ढकाल सहितका १४ जनाको समुहले मानन्धरलाई योजनाबद्ध रुपमा हत्या गरेको पुष्टि भयो । मानन्धरको हत्या गर्नका लागि रिगलले ती युवाहरुलाई नेपालगन्ज बोलाई न्यूरोडस्थित इन्द्रेणी होटलको १०४ नं कोठामा आफ्नै नाममा कोठा बुक गरी बसालेको अनुसन्धानबाट खुलेको थियो । लामो समय होटलमा उनीहरुलाई बसाएर रिगलले घटनाको योजना बनाएर उनको हत्या गरेका थिए ।

प्रहरीले हत्यामा उनको मुख्य संलग्नता रहेको दाबी गर्दै कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो । रिगलसहित १५ जनाविरुद्ध जिल्ला अदालत बाँकेमा मुद्दा दर्ता भयो । चेतनको हत्या भएको करिब डेढ महिनापछि अर्थात २०७२ भदौ ७ गते सोमबारका दिन गुण्डा नाईके रिगलले अदालतमा आत्मसर्मपण गरे । प्रहरीले गुण्डा नाइकेहरुलाई खोजी खोजी इन्काउन्टर गर्न थालेपछि रिगलले डराएर आत्मसमर्पण गरेका थिए । किनभने, त्यतिबेला काठमाण्डौमा गुण्डा नाईके कुमार श्रेष्ठ घैंटेको प्रहरी कारवाहीमा मृत्यु भएको थियो । रिगल पक्षका वकिलहरुले आत्मसमर्पणको सुझाव दिएपछि काठमाडौंबाट नेपालगन्ज गएर उनले आत्मसमर्पण गरेको हुनुपर्छ ।

हत्यामा संलग्नहरुमा रुकुमका २२ वर्षीय प्रशान्त गौतम, बाँकेका २९ वर्षीय नवराज खत्री, सुर्खेतका २२ वर्षीय विशाल बस्नेत, २५ वर्षीय मोहन खड्का, बाँकेका २१ वर्षीय केशव रोकाय, नेपालगन्जका ३२ वर्षीय प्रितम थापा, ३२ वर्षीय माधव परीयार, दाङ्गका २७ वर्षीय हरी वली, बाँकेका २७ वर्षीय विवाद पाठक, प्यूठानका २५ वर्षीय यमबहादुर बुढामगर, नेपालगन्जका मनिश चौलागाई, सोहनसिंह ढकाल र नेपालगन्जकै दीपेन्द्र सिंह थिए । घटना भएको तीन वर्षपछि जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै रिगललाई सर्वस्वसहित जन्मकैदको सजाय सुनायो । सो घटनामा दोषी ठहर भएका अन्य १३ जनामध्ये ४ जनालाई जन्मकैद र बाँकी ९ जनालाई तीन वर्षदेखि १० वर्षसम्मको सजाय तोकियो । भने एक जनालाई सफाइ दिइयो  ।

जन्मकैदको सजाय पाउनेमा प्रशान्त गौतम भनिने प्रेमध्वज खत्री, विशाल भन्ने छविलाल बस्नेत, नवराज खत्री र मोहनलाल खड्का रहेका थिए भने सोहनसिंह ढकाललाई १० वर्ष कैद सजाय तोकिएको थियो । यसैगरी माधव नेपाली, विराज पाठक, हरि ओली, मनिष चौलागाईं, प्रितम थापा, यमबहादुर बुढामगर र केशवबहादुर रोकायालाई तीन वर्ष तथा दीपेन्द्रसिंह भन्ने दीपेन्द्र मल्ललाई ५ वर्षको कैद सजाय तोकियो । दीपक केसीले भने सफाइ पाएका थिए ।

हाल यो घटना भएको आठ वर्ष पुरा भइसक्यो । तर, आजसम्म पनि त्यसको पीडाबाट परिवार बाहिर निस्कन सकेका छैन् । झन राष्ट्रपतिले रिगललाई आममाफी दिएपछि उनीहरुको पुरानो घाउको पीडामा थप पीडा थपिएको छ । त्यतिमात्र हैन, हत्यारा छुट्नुले देशमा कानुन नभएको पनि महसुश भइरहेको छ ।