|  

अन्तिम मितिसम्म पनि एमडीएमएसमा दर्ता नभएका ८०४ आईफोन ब्लक

२१ कात्तिक, काठमाडौं । नेपालमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)कार्यान्वयनमा आएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले दर्ता नभएका आईफोन १५ सिरिजका फोन लक गर्दै एमडीएमएस लागू गरेको हो ।

प्राधिकरणका अनुसार एमडीएमएसमा दर्ता नभएका ८०४ ओटा आईफोन १५ सिरिजका फोनमा सोमबार राति ९ बजेदेखि दूरसञ्चार सेवा बन्द भएको छ ।आईफोन १५ सिरिज अन्तर्गत करिब एक हजार डिभाइसमा एमडीएमएसमा दर्ता हुन १५ दिनअघि एसएमएस पठाइएको थियो । त्यसमध्ये ८०४ डिभाइस तोकिएको समयभित्र दर्ता नभएकाले बन्द गरिएको प्राधिकरणले जनाएको छ ।

यी फोनमा दूरसञ्चार सेवा अर्थात् नेपाल टेलिकम वा एनसेलको सिम सपोर्ट हुनेछैन । यद्यपि प्रयोगकर्ताले वाई–फाई सेवा भने चलाउन सक्नेछन् ।प्राधिकरणले अर्को चरणमा एमडीएमएसमा दर्ता नभएका अन्य हाई इन्ड तथा महँगा फोनहरूमा यो प्रणाली लागू हुने जानकारी दिएको छ ।

यसअन्तर्गत प्राधिकरणले एमडीएमएसमा दर्ता नगरी प्रयोगमा आएका फोनमा १५ दिनको म्याद राखी तोकिएको दस्तुरसहित दर्ता गर्न एसएमएसमार्फत आग्रह गर्नेछ । सो अवधिमा दर्ता नहुने डिभाइस नियामनुसार ब्लक हुनेछन् ।