|  

चिसोका कारण भूकम्पपीडितमा स्वास्थ्य समस्या, दुईजनाको मृत्यु 

२५ कात्तिक, काठमाडौं । भूकम्पबाट प्रभावित नागरिकमा स्वास्थ्य समस्या देखिन थालेको छ ।

खुला चौरमा त्रिपाल र कम्बलको भरमा रात कटाउनु पर्दा अत्यधिक जाडोका कारण स्वास्थ्यमा समस्या देखिन थालेको हो ।अत्यधिकरुपमा बढेको जाडोका कारण बिहीबार र शुक्रबार दुईजनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा नलगाड नगरपालिका–४ लहँका ४८ वर्षीया महिला पम्फा रावल र सोही वडाकै ८४ वर्षीय गोपालबहादुर रावल छन् ।गोपालको दम रोगका कारण र पम्फाको निमोनियाका कारण मृत्यु भएको हो ।

चिसोले निमोनिया भएपछि उपचारका क्रममा दल्लीस्थित नगर अस्पतालमा पम्फाको मृत्यु भएको बताइएको छ । लहँमा तुसारो परेको र सिरेटो जाडो पनि बढ्दै गएपछि एकसरो लुगा र त्रिपालका भरमा रात काट्नुपर्ने बाध्यताका कारण ज्येष्ठ नागरिक, बालबालिका र दीर्घरोगीमा स्वास्थ्य समस्या देखिन थालेको छ । तीन सय ७५ घरधुरी रहेको वडा नम्बर ४ मा दम, बाथ र मुटु रोगी ३० जना ज्येष्ठ नागरिक र ३० जना सुत्केरीको व्यवस्थापन गर्न समस्या भएको छ ।

भूकम्प गएको एकदुई दिनदेखि नै बालबालिका र ज्येष्ठ नागरिकमा निमोनिया र दमको लक्षण देखिन थालिसकेको थियो । नियमित औषधि सेवनकर्ताको भूकम्पले घर भत्काउँदा औषधि पुरिएपछि उनीहरूले औषधि खानबाट वञ्चित भए जसले गर्दा उनीहरूमा चिसोले असर पार्दै गएको छ । एक–एक थान त्रिपाल र कम्बलकै सहारामा रात कटाउनुपर्दा सिरेटो जाडोले ज्येष्ठ नागरिक, बालबालिका र सुत्केरीमा दम, रुघाखोकी, निमोनिया, ज्वरो, झाडापखालालगायत स्वास्थ्य समस्या देखिन थालेको बताइएको छ ।