|  

भारतीय चलचित्र बराबर शो नदिए शुक्रबारदेखि ‘दिमाग खराब’ प्रदर्शन रोक्ने निर्माण टीमको घोषणा

२९ कात्तिक, काठमाडौं ।   विदेशी चलचित्र सरह शो नदिइएको भन्दै निर्माता र निर्देशकले ‘दिमाग खराब’ चलचित्रको प्रदर्शनी रोक्ने घोषणा गरेका छन् ।

निर्माता रौनकविक्रम कँडेल र निर्देशक निश्चल बस्नेतले विज्ञप्ति जारी गर्दै हलहरूको अन्यायपूर्ण व्यवहारका कारण चलचित्रको प्रदर्शन रोक्ने घोषणा गर्नुपरेको बताएका छन्। चलचित्र यही कात्तिक २४ गतेदेखि प्रदर्शनीमा आएको थियो।‘कात्तिक २४ देखि नेपाली चलचित्र दिमाग खराव संसारभर चलिरहेको छ। दर्शकहरूको अथाह माया र सद्भाव अनि चलचित्र दिमाग खरावप्रतिको चासोका कारण दिन प्रतिदिन चलचित्र हेर्न दर्शकहरु बढीरहनुभएको छ।

हामीलाई त्यो कुराले अझै जिम्मेवार बनाएको छ। र, आगामी दिनमा हामीले अझै राम्रो चलचित्र बनाउने कोसिस गर्नेछौं, तर, विगतदेखि हामी नेपाली चलचित्र निर्माताले चलचित्र प्रदर्शकहरूबाट सधैं अन्यायपूर्ण व्यवहार खेप्दै आएका छौं। विदेशी चलचित्रलाई बिनातर्क प्रशस्तै शोहरू दिने र दर्शकको अत्यधिक चासो भएको र दर्शकहरूले हेर्न खोजेका नेपाली चलचित्रलाई पनि आवश्यक शो नदिने प्रचलन पुरानै हो,’ विज्ञप्तिमा भनिएको छ।