|  

च्याटजीपीटी निर्माता ओपनएआईका सीईओ साम अल्टम्यान बर्खास्त

०२ मंसिर, काठमाडौं । चर्चित एआई च्याटबट च्याटजीपीटी निर्माण गर्ने ओपनएआईका सह(संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यान बर्खास्तमा परेका छन् । 

कम्पनीले एक ब्लगपोस्ट सार्वजनिक गर्दै शुक्रबार बसेको कम्पनीको बोर्ड बैठकले सीईओबाट उनलाई बर्खास्त गरेको जानकारी दिएको हो । कम्पनीले जारी गरेको ब्लगपोस्टमा ओपनएआईलाई चलाउन सक्ने थप क्षमता उनमा नभएको र बोर्डसँग उनी इमान्दार नभएको उल्लेख गरेको छ । उनको बर्खास्तीसँगै ओपनएआईका अध्यक्ष तथा सहसंस्थापक ग्रेग ब्रकम्यानलाई पनि बोर्डले कम्पनीमा रहने गरी पदबाट हटाएको छ ।

त्यस्तै, उनको बर्खास्तीले एआई क्षेत्रका सबैलाई अचम्मित पारेको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले लेखेका छन । यता ओपनएआईले भने प्रमुख प्रविधि अधिकृत (सीटीओ) मिरा मुरातीलाई कार्यवाहक सीईओ नियुक्त गरेको र चाँडै स्थायी सिईओ नियुक्त गर्ने बताएको छ । ओपनएआईले गत नोभेम्बर २०२२ मा च्याटजीपीटी सार्वजनिक गरेपछि अल्टम्यानलाई एआई  क्षेत्रको प्रमुख व्यक्तिमा रुपमा लिइँदै आइएको छ । आर्टिफिसियल जेनेरल इन्टेलिजेन्स (एजीआई) तयार पार्ने लक्ष्यका साथमा सन् २०१५ देखि उनी ओपनएआईमा जोडिएका थिए ।