४ मंसिर, काठमाडौं । सर्लाहीको हरिवन नगरपालिका-९, नोचामा आज बिहान गाडीले ठक्कर दिँदा एक छठ ब्रतालु महिलाको मृत्यु भएको छ ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत हरिवनको नोचामा गाडीले ठक्कर दिँदा स्थानीय ५२ वर्षीया लक्ष्मी पोखरेलको मृत्यु भएको प्रहरीले जनाएको छ । नोचास्थित छठ घाटमा छठ पूजा गरेर घर फर्किंदै गरेको पोखरेललाई मधेस प्रदेश-०३-००१ ज ०३४२ नम्बरको गाडीले ठक्कर दिएको हो ।
महिलालाई ठक्कर दिइ चालक भाग्ने क्रममा सोही गाडीको ठक्करबाट सडक सुरक्षार्थ खटिएको ट्राफिक प्रहरी हवल्दार सुबोधकुमार यादव घाइते भएका हुन् ।
बायाँ खुट्टा भाँचिएका हवल्दार यादवलाई उपचारका लागि लालगढ अस्पताल लगिएको छ। गाडीको ठक्करबाट सडक छेउमा रोकिराखेको बागमती प्रदेश-०२-०३८ प ०३११ नम्बरको मोटरसाइकलमा समेत क्षति पुगेको छ।