|  

अस्थायी आवास बनाउन कांग्रेसले पठायो प्रदीपको नेतृत्वमा पहिलो टोली

४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिममा अस्थायी आवास बनाउने पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वको टोली पठाएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा एक हजारवटा अस्थायी आवास बनाउने अभियान अनुसार आज पौडेल नेतृत्वको टोली जाजरकोट प्रस्थान गरेको हो । सोमबार बिहान सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले पनि अस्थायी आवास बनाउन स्वयमसेवक खटाउने निर्णय गरेको थियो। उक्त निर्णयअनुसार पौडेल नेतृत्वको पहिलो टोली भूकम्प प्रभावित क्षेत्रतिर लागेको हो ।

कांग्रेसले इन्जिनियर, डकर्मीसहित २५ वटा टोली भूकम्प प्रभावित क्षेत्रमा टहरा बनाउन परिचालन गर्ने निर्णय गरेको थियो । एउटा टोलीमा १० जनाका दरले स्वयमसेवक हुनेछन्। पौडेल नेतृत्वको टोलीमा नेता डिल्लीराम सुवेदी, सुशील भट्ट, पुष्प बस्नेत, दिपक कँडेल, भागवत रेग्मी, सुवास घिमिरे, जीवन सुवेदी, नवराज डागी लगायत छन् ।