|  

आज बाट ३० दिनसम्मका लागि माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा

४ मंसिर, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले एक महिनाका लागि माइतीघरदेखि नयाँ बानेश्वरसम्मको सडक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले मंसिर ४ देखि ३० दिनसम्मका लागि माइतीघरदेखि नयाँ बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेका हुन् । 

नेकपा एमाले निकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षले मंसिर ७ गते माइतीघरमा प्रदर्शन गर्न लागेका थिए। 

तर एकैदिन दुई पक्षको प्रदर्शन हुँदा शान्ति सुरक्षामा समस्या आउने भन्दै प्रशासनले माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३(क) बमोजिम आदेश जारी गरेको हो। 

पद्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतर‍्फ र माइतीघर मण्डलदेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र तोकिएको हो। 

‘एक वा सोभन्दा बढी समूहद्वारा एकै मिति, समय र स्थानमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ र विरोध प्रदर्शन जस्ता कार्यक्रमहरू आयोजना गर्दा विभिन्न समूहबीच आपसी विवाद, झैझगडा, मुठभेड एव‌ भिडन्त भई शान्ति सुरक्षा भंग हुनसक्ने तथा हुलदंगा वा अशान्ति हुनसक्ने भई समग्र रूपमा शान्ति सुरक्षामा प्रत्यक्ष असर पर्छ,’ प्रमुख जिल्ला अधिकारी बस्नेतले जारी गरेको आदेशमा भनिएको छ।  

सोमबार प्रमुख जिल्ला अधिकारी बस्नेतले दुर्गा प्रसाई पक्ष र युवा संघ पक्षबीच छलफल गरेका थिए। दुबैले शान्ति सुरक्षा कायम गर्न सहयोग गर्ने बताएका थिए। 

दुर्गा प्रसाईं र नेकपा एमालेका नेता महेश बस्नेतबीच पछिल्लो समय आरोप प्रत्यारोप हुँदै आएको छ। यसैबीच एकैदिन कार्यक्रम हुँदा शान्ति सुरक्षामा समस्या आउने प्रशासनको चिन्ताको विषय बनेको थियो। 

जसकारण दुबै पक्षलाई माइतीघर मण्डलमा कार्यक्रम गर्न रोक्दै अन्यत्र नै कार्यक्रम गराउन लागेको हो। 

‘अहिलेलाई हामीले निषेधको आदेश दिएका छौ‌ं,’ प्रमुख जिल्ला अधिकारी बस्नेतले भने, ‘पछि हामी उहाँहरूसँग छलफल गरेर प्रदर्शनको लागि छुट्टाछुट्टै ठाउँ तोक्छौं।’