|  

पाँच महिनादेखि तलब नपाएको भन्दै शिक्षकले गरे विद्यालय बन्द

०९ मंसिर, काठमाडौं । सर्लाहीको दक्षिण-पूर्वी भेगमा पर्ने हरि पूर्वा नगरपालिकाका शिक्षक विद्यालय बन्द गरेर धर्नामा बसेका छन् ।

आर्थिक वर्ष २०८०/०८१ सुरु भएको चार महिना बितिसिक्दा समेत नगर सभा हुन नसक्दा यहाँका शिक्षकले तलब पाउन सकेका छैनन । गत साउनदेखि तलब नपाएका शिक्षकले तलब माग गर्दै नगरपालिका कार्यालयमा धर्ना सुरु गरेका हुन । शिक्षकको आन्दोलनले गएको बुधवार देखी नगरपालिकाभित्रका १६ वटा सामुदायिक विद्यालय बन्द हुँदा ५ हजार विद्यार्थी पठनपाठनबाट वञ्चित भएका छन् । हरि पूर्वा नगरपालिका-५ स्थित केश्वर गरिव जनता माध्यमिक विद्यालय हरिपूर्वाकी शिक्षिका रीनाकुमारी साहले तलब दिनुपर्ने एक सूत्रीय माग राखेर धर्नामा बसेको बताए ।

पढाई नै रोकेर आन्दोलनमा उत्रिनुपर्ने आफूहरूको बाध्यता रहेको उनको भनाई छ । नगरपालिकामा पटक-पटक ध्यानाकर्षण गराउँदा दसैँ, तिहार र छठ जस्ता प्रमुख पर्वमा समेत तलब नपाएपछि बाध्य भई धर्नामा बस्नु परेको आन्दोलित शिक्षकको गुनासो छ । हरि पूर्वा नगरपालिका-४, मा रहेको जनशक्ति प्राथमिक विद्यालय डुमरियाका प्रधानाध्यापक राम जीवन रायले गएको असोज १६ गते ज्ञापन पत्र बुझाएर तलब निकासा गरिदिन माग गरे पनि अहिलेसम्म तलब नपाएको बताए ।

ज्ञापन पत्र बुझाएर नगरप्रमुख समक्ष गुनासो राख्दा समेत सुनुवाइ नभएपछि नगरपालिका कार्यालयमा आएर धर्नामा बसेको उनले बताए । नगर सभा गर्न नसक्दा हरि पूर्वा नगरपालिकाले शिक्षक, कर्मचारी कसैलाई पनि तलब खुवाउन सकेको छैन । नगरपालिकाका प्रमुख विनोद साह तेलीले प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगर सभा गर्न नसकेको बताए ।

प्रमुख प्रशासकीय अधिकृत नपाउँदा आफू निरीह बनेको नगरप्रमुख साहको दुखेसो छ । हरि पूर्वा नगरपालिकामा गएको वर्ष चैत १५ गते प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपाने सरुवा भएर गएदेखि नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइएको छैन । असार अन्तिमतिर तलब, भत्ता खुवाउनका लागि मात्रै भनी प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रलाई पठाइएको थियो । 

मिश्र केही दिन हाजिर भएर पुनः मन्त्रालयमै फर्किनुभयो । त्यसपछि विभिन्न प्रमुख प्रशासकीय अधिकृत पठाइएकोमा कसैलाई बाटोबाटै र कसैलाई केही घण्टाभित्रै अन्यत्र सरुवा गराइएको नगरप्रमुख साहले बताए । आफूले कयौँ पटक मन्त्रालयमा पुगेर प्रमुख प्रशासकीय अधिकृत पठाइदिन लिखित तथा मौखिक रूपमा आग्रह गरे पनि सर्लाही क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य समेत रहेका खानेपानी मन्त्री महिन्द्रराय यादवले हस्तक्षेप गरेर कुनै पनि प्रमुख प्रशासकीय अधिकृतलाई आउनै नदिएको नगरप्रमुख साहले आरोप लगाएका छन् ।