१० मंसिर, काठमाडौं । जाजरकोट भेरी नगरपालिका-१ रिम्नामा मोबाइल टावर सञ्चालनको तयारी थालिएको छ ।
नेपाल टेलिकमको केन्द्रीय कार्यालयका प्रबन्ध निर्देशक सङ्गीता पहाडीको नेतृत्वमा भूकम्प प्रभावित क्षेत्रमा अनुगमनलगत्तै टावर सञ्चालनको तयारी थालिएको हो । टावर सञ्चालनमा आउने भएपछि उक्त ठाउँमा निःशुल्क सिमसमेत वितरण हुन लागेको नेपाल टेलिकमले जनाएको छ । सदरमुकाम अन्तर्गत पर्ने भए पनि फोन नबुझिने समस्या स्थानीयलाई सास्ती भएको थियो ।
नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीमा नयाँ टावर निर्माणका लागि पहल थालिएको निर्देशक पहाडीले बताइन् । उनीसँगै प्राविधिक टोलीले जिल्लाका सबै ठाउँमा स्थलगत अनुगमन गरी फोन लाग्ने र नलाग्ने ठाउँको पहिचान गरेको थियो ।
भूकम्पबाट बढी प्रभावित भएका जाजरकोट र रुकुम पश्चिमका साथै अन्य जिल्लामा टेलिकमले नमुना सेवा दिने लक्ष्यसहित स्थलगत अनुगमन गरिएको पहाडीले बताइन् । भूकम्प प्रभावित क्षेत्रमा रहेका टावरको अवस्था र क्षमताको जाँच गरिएको उनको भनाइ थियो ।