११ मंसिर, काठमाडौं । पैसा कमाउन सकिने सामाजिक सञ्जाल स्मार्टगफले आफ्नो सेवा सुरु गरेको छ ।
भिडिओमा प्राप्त भ्युजका आधारमा प्रयोगकर्तालाई पैसा दिने गरी स्मार्टगफ एप प्रालिले यो एप ल्याएको हो ।यो एप हालै मात्र सार्वजनिक भएको थियो । स्मार्टगफ एप नेपालका लागि यहाँको माटो सुहाउँदो हुने गरी नेपालीले नै बनाएको कम्पनीले बताइको छ ।“सामान्य प्रयोगकर्ताले फेसबुक, इन्स्टाग्राम चलाएरै दिन कटाइरहेका हुन्छन् । तर दिन बितिसक्दा उनीहरूको समय मात्र खर्च हुन्छ,” कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश शाहीले भने, “तर स्मार्टगफ प्रयोग गर्ने सबैले आफ्नो पोस्ट मार्फत पैसा कमाउन सक्छन् ।
स्मार्टगफमा प्रत्येक कमेन्ट, शेयर र इंगेजमेन्टले छुट्टै अर्थ राख्छ ।”सीईओ शाहीका अनुसार कम्पनीले प्रत्येक एक हजार भ्युजका लागि १५ रुपैयाँ दिनेछ । तर यो रकम झिक्न भने प्रोफाइलमा न्यूनतम सय रुपैयाँ जम्मा हुनु पर्ने भनिएको छ । त्यसरी जम्मा हुने पैसा प्रति महिना चार पटकमा झिक्न सकिने उनले बताए । “कोही प्रयोगकर्ताको अकाउन्टमा १०० रुपैयाँभन्दा बढी छ भने दिइएको ईमेलमा युजर नेम र नेपालको बैंक अकाउन्ट डिटेल पठाएर विथड्रको अनुरोध गर्न सक्नुहुन्छ । त्यसको ४८ घण्टाको कार्यालय समयभित्रमा उहाँहरूको खातामा पैसा आइपुग्छ ।
तर नेपाली नागरिकका लागि मात्र यो सुविधा हुनेछ,” उनले भने ।प्रयोगकर्तालाई भ्युजका आधारमा पैसा दिन कम्पनीले आम्दानी बाँडफाँड गर्ने सीईओ शाहीको भनाइ छ । यसका लागि एपमा विज्ञापन र लाइभ सेक्सन चाँडै थपिनेछ । त्यस्तै एपलाई सभ्य बनाउन नग्नता र अपशब्द जस्ता कुरालाई पूर्ण प्रतिबन्ध लगाइएको पनि शाहीले बताए ।
तर कम्पनी स्वयंले भने आफ्नो एपलाई टिकटको विकल्प नभएको बताएको छ ।
“सरकारले नेपालमा टिकटक बन्द गर्नु अगावै स्मार्टगफ सार्वजनिक भएको हो । हामीले अब टिकटकको विकल्प नै भनेर सोचेका छैनौं,” उनले अगाडि भने, “रिवार्डको रूपमा प्रयोगकर्ताले ‘लाइक’ मात्र पाउने अवस्था परिवर्तन गर्न हामीले यो प्लेटफर्म ल्याएका हौं ।” तर प्रयोगकर्ताबीच कुराकानी गर्न च्याट फिचर भने एपमा नल्याइने उनले बताए । यद्यपि प्रयोगकर्तालाई उपयोगी हुने अन्य फिचरहरू भने आगामी दिनमा थप्दै कम्पनीको योजना रहेको छ ।