|  

चितवनको बैकुण्ठ तालमा पौडी खेल्न प्रतिबन्ध

१२ मंसिर, काठमाडौं । चितवनको माडीमा रहेको पर्यटकीय गन्तव्य बैकुण्ठ तालमा पौडी खेल्न प्रतिबन्ध लगाइएको छ ।

त्यहाँ पौडी खेल्दा प्रत्येक वर्ष मानिसको डुबेर ज्यान जान थालेपछि बैकुण्ठ ताल व्यवस्थापन समितिले पौडी खेल्न रोक लगाएको हो । समितिले ताल क्षेत्रमा बोर्ड राख्दै पौडी नखेल्न भनेको ताल व्यवस्थापन समितिका अध्यक्ष राजकुमार परियारले जानकारी दिए । माडी नगरपालिका-८ मा रहेको बैकुण्ठ सामुदायिक वनभित्रको बैकुण्ठेश्वर तालमा घुमफिर गर्न दैनिक पर्यटक जाने गरेका छन । धार्मिक महत्त्व बोकेको ताल भए पनि त्यहाँको मनोरम दृश्यकै कारण धेरै पर्यटक भित्रिने गरेका छन । सुरक्षालगायतका अन्य तयारी भएपछि मात्र पौडी खेल्न दिइने बताइएको छ ।

खरकट्टामा रहेको बैकुण्ठ चोकबाट करिब साढे ३ किलोमिटर दक्षिण लागेपछि बैकुण्ठ मेलास्थल आइपुग्छ । मेलास्थलबाट करिब २० मिनेटको पैदलयात्रापछि ताल पुग्न सकिन्छ । घाँघर खोलाको शिरमा रहेको यो तालमा दुई छहरा छन । चारैतिरको हरियालीले तालको दृश्यलाई नै लोभलाग्दो बनाएको छ । केही वर्षयता ताल अवलोकन गर्न आउने क्रम बढेको माडी–८ का वडाध्यक्ष वीरेन्द्रबहादुर भण्डारी जानकारी दिए । गर्मीयाममा अझै धेरै पर्यटक आउने गरेका छन् । प्रत्येक वर्ष पौडी खेल्दा मानिसको ज्यान गएपछि पौडी नखेल्न अनुरोध गरिएको भण्डारीले बताए ।

त्यहाँ बालाचतुर्थीको अवसरमा मेला लाग्ने गर्दछ । यस वर्ष पनि मेलाको तयारी तीव्र पारिएको छ । मेला लाग्ने चौरमा वनभोज खान मिल्ने व्यवस्था छ ।  करिब २०३५ सालतिर घाँस–दाउँरा काट्न जाने क्रममा फेला परेको यो ताल ३२ मिटर गहिराइको छ ।