|  

थानकोट चेक प्वाइन्टबाट लागुऔषधसहित २ जना पक्राउ

१२ मंसिर, काठमाडौं । चन्द्रागिरि नगरपालिका–२ स्थित थानकोट चेक प्वाइन्टबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब नौ ग्राम ५० मिलिग्रामसहित दुई जनालाई पक्राउ गरिएको छ । झापाको बुधबारे गाउँपालिका– ५ का ३० वर्षीय सन्तोष तिवारी र सोही गाउँपालिका–३ का ३९ वर्षीय हरिबहादुर बिकलाई पक्राउ गरिएको हो । 

भद्रपुरबाट काठमाडौं आइरहेको बसलाई प्रहरी प्रभाग नागढुङ्गा र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गाबाट संयुक्त रूपमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई अन्डरवेयरभित्र तीन वटा पोकामा लुकाइ ल्याएको उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 इलामको माई नगरपालिका–३ चियाकमानबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ दुई ग्राम तीन सय २० मिलिग्रामसहित सोही ठाउँ बस्ने २५ वर्षीय सुदिपकुमार दनुवारलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।प्रहरी चौकी दानाबारीबाट खटिएको टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।