१२ मंसिर, काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब समूह ‘डी’ को विजेताका रूपमा केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
आज मङ्गलबार भएको खेलमा आर्मीले कोशीलाई ३९ रनले हरायो ।आर्मीले दिएको १ सय ८७ रनको लक्ष्य पछ्याएको कोशी १८ ओभर २ बलमा १ सय ४७ रनमा अल आउट भयो । कोशीका सोनु अन्सारीले सर्वाधिक ४४ रन बनाए । यस्तै समिर कार्कीले ३४ र सुजन थपलियाले २१ रन जोडे । बलिङतर्फ आर्मीका सोमपाल कामी र विवेक यादवले समान २ विकेट लिए ।
यसअघि पोखरा रङ्गशालामा टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८६ रन बनायो । आर्मीका भीम सार्कीले सानदार अर्धशतक बनाए । उनी २४ बलमा ५३ रन बनाएर आउट भए । यस्तै सन्तोष कार्कीले ५० र रोहित पौडेलले २३ रन जोडे । बलिङतर्फ कोशीका श्रवण यादवले ३ र कमल खत्रीले २ विकेट लिए ।