१२ मंसिर, काठमाडौं । रुकुम पश्चिममा भूकम्प पीडितको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता बापतको रकम निकासा शुरू गर्न लागिएको छ ।
पहिलो किस्ता बापतको रकम स्थानीय जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको कोषमा उक्त रकम पठाउन लागिएको हो । जिल्ला विपद् व्यवस्थापन समितिले त्रिवेणी गाउँपालिकामा अस्थायी आवास निर्माणका लागि ६४ घर परिवारका लागि पहिलो किस्ता बापतको रकम पठाउने निर्णय गरेको हो ।
भूकम्पबाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि –२०८० (दोस्रो संशोधन समेत) परिच्छेद २ को ३ (१) बमोजिम उक्त रकम निकासा गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालले जानकारी दिए । उनका अनुसार पहिलो किस्तामा एक घरपरिवारले पाउनुपर्ने रु २५ हजार रकम स्थानीय जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको कोषमा पहिलो किस्तामा १६ लाख रकम पठाइने छ ।
अस्थायी आवास पूर्ण निर्माण भएपछि बाँकी रकम पठाइने उनको भनाइ छ । भूकम्पबाट घर क्षति भएकालाई अस्थायी आवास निर्माणका लागि सरकारले रु ५० हजार राहत उपलध गराउने निर्णय गरिसकेको छ ।