|  

प्रधानमन्त्री दाहाल आज युएई जाँदै

१३ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज यूएई जाँदैछन् ।

जलवायु परिवर्तन सम्बन्धी सम्मेलन कोप-२८ मा भाग लिन उनी त्यसतर्फ जान लागेका हुन् । सम्मेलनमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज राति नेपाल एयरलाइन्सको विमानमार्फत प्रधानमन्त्री दाहाल त्यसतर्फ जान लागेका छन् । संयुक्त अरब इमिरेट्स (यूएई)मा मंसिर १४ गतेदेखि २६ गतेसम्म सम्मेलनको आयोजना हुँदैछ । प्रधानमन्त्री दाहालले मंसीर १६ गते शनिबार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्मेलनका क्रममा प्रधानमन्त्री प्रचण्डले द्वीपक्षीय भेटवार्ताहरु पनि गर्नेछन् । यूएई भ्रमणका क्रममा त्यहाँ रहेको नेपाली दूतावासमा जाने र नेपाली समुदायका साथै नेपाल–यूएई व्यवसायी सम्मेलनलाई सम्बोधन समेत गर्नेछन् ।

प्रधानमन्त्री दाहाल मंसिर १७ गते स्वदेश फर्किने तालिका रहेको छ । भ्रमण टोलीमा १ सय जनाभन्दा बढी नेपाली प्रतिनिधि रहेका छन् ।