|  

उत्तेजक भाषण दिएको आरोपमा आठ जनाविरुद्ध मुद्दा दायर 

१३ मंसिर, काठमाडौं । नागरिक बचाउका अभियन्ता दुर्गा प्रसाईं नेतृत्वको आन्दोलनमा उत्तेजक भाषण दिएको आरोपमा पक्राउ परेका धर्मगुरु आचार्य श्रीनिवाससहित आठ जनाविरुद्ध प्रहरीले मुद्दा दायर गरेको छ ।

उनीहरुविरुद्ध सार्वजनिक शान्ति सुरक्षा खलल पारेको कसुर र अभद्र व्यवहारमा मुद्दा चलाउने उद्देश्यसहित प्रहरीले उनीहरुलाई अनुसन्धानको म्याद लिएको छ । निवाससहित सुजन खड्का, मोहरमान बस्नेत, दिपेश खड्का र गोर्खाका अनिल गुरुङविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दा चलाउन म्याद लिएको प्रहरीले जनाएको छ ।

आचार्य श्रीनिवासलाई तीन दिन र बाँकी चारजनालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गरिनेछ । यसैगरी मनोज थापा, विनन्जय थापा र निकेश बास्तोलाविरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा चलाइने भएको छ । उनीहरूमाथि छानबिन गर्न प्रहरीले अदालतबाट तीन दिनको म्याद पाएको छ ।

उनीहरूमध्ये आचार्य श्रीनिवासलाई काठमाडौं जिल्ला प्रहरी परिसरमा राखेर अनुसन्धान भइरहेको छ । अन्यलाई प्रहरी वृत्त गौशालामा राखिएको काठमाडौ परिसरले जनाएको छ । दुर्गा प्रसाइको अभियानले मंसीर ७ गतेदेखि राजधानीका विभिन्न क्षेत्रमा विरोध प्रदर्शन गर्दै आएको छ ।