|  

नेपाल सुपर लिग दुई अपराजित टोली पोखरा र ललितपुर भिड्दै

१३ मंसिर, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ अन्तर्गत आज दुई अपराजित टोली पोखरा थण्डर्स र ललितपुर सिटी एफसी भिड्दैछन् ।

यसअघि दुवैले आफ्नो पहिलो खेल जित्दै सुखद सुरुआत गरेका थिए । त्यही लयलाई कायम राख्दै लगातार दोस्रो खेल जित्ने लक्ष्यमा पोखरा र ललितपुर छन । ललितपुरले पहिलो खेलमा बुटवल-लुम्बिनी एफसीलाई २-० ले पराजित गरेको थियो । ललितपुरका लागि कप्तान तथा मार्की अनन्त तामाङ र दिनेश हेन्जनले गोल गरेका थिए ।

उता पोखराले भने पहिलो खेलमा एफसी चितवनलाई १-० ले पराजित गरेको थियो । पोखराका लागि विदेशी खेलाडी मोसेसले गोल गरेका थिए । अनन्तसहित वर्तमान राष्ट्रिय टोलीका चार खेलाडी रहेको ललितपुर यस सिजन बलियो देखिएको छ । टोलीमा अनन्त र दिनेश हेन्जनसहित सेसेहाङ आङ्दम्बे र सनिश श्रेष्ठ राष्ट्रिय टिमका खेलाडी छन् ।

यस्तै फ्रान्सदेखि नाइजेरियासम्मका विदेशी खेलाडी छन् । फ्रान्सका गोलकिपर जेफ्री बाल्टुस र फरवार्ड पापा इबोउ केबे छन भने नाइजेरियाको राष्ट्रिय टिमबाट खेलेका इमोह इजेकेल पनि छन् । नेपाली घरेलु लिग खेल्दै आएका ओमालाजा करिम पनि ललितपुर टिममा छन् ।

ललितपुरले पहिलो खेलमा ४ जना मात्र विदेशी खेलाडी खेलाएको थियो । भारती निखिल कदम टिममा रहेपनि उनी बेन्चमै सीमित रहे । यस्तै ललितपुरको टिममा नुर्लान नोब्रुजोभ पनि आएका छन । मछिन्द्र क्लबबाट ए डिभिजन लिग जितेका नुर्लानले पहिलो सिजन पनि ललितपुरबाटै खेलेका थिए ।

युवा खेलाडी आयुष घलान मार्की रहेको पोखराको कप्तानमा दिनेश राजवंशी छन् । अष्ट्रेलिया बसेर उतै पुटबल खेल्दै आएका दिनेश आइकोनिक प्लेअर बनेर एनएसएल खेल्न आएका हुन । पोखरामा नेपाली घरेलु फुटबल खेलिसकेका विदेशी खेलाडीहरु छन । जसमा चर्च ब्वाइजबाट ए डिभिजन लिग जितेका प्रिसो गोलकिपर छन् ।

यस्तै लिग खेलिसकेका फ्रांकलिन क्युएटे टाला, जोए आइडु र मोसेस ग्याबाह पनि छन । अर्का खेलाडीमा स्टेफेन कोजो छन । पोखरा र ललितपुरबीचको खेल आज साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सुरु हुनेछ ।