|  

सुत्केरीको मृत्यु भएपछि बुटवलको सिद्धार्थ अस्पतालका डा.राजेन्द्र बस्यालमाथी कुटपिट

१३ मंसिर, काठमाडौं । बुटवलको दिपनगरमा रहेको सिद्धार्थ बाल तथा महिला अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा.राजेन्द्र बस्यालमाथी कुटपिट भएको छ ।

अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएपछि उत्पन्न तनाव समाधान गर्न वार्ता भइरहेको अवस्थामा बस्यालमाथी कुटपिट भएको हो । मृतकका आफन्तको कुट‍पिटबाट गम्भीर घाइते भएका बस्यालको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । गएराती २ बजे ‍अस्पताल पुर्‍याइ उनलाई सघन उपचार कक्ष (आईसियु)मा उपचार भइरहेको अस्पतालले जनाएको छ । सुत्केरी गराउन आएकी एक महिलाको सुत्केरी भएको दुई दिनमा मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको प्रहरीले जनाएको छ ।

गुल्मीको सत्यवती गाउँपालिका ठूलो लुम्पेक घर भई भैरहवामा बस्दै आएकी बस्दै आएकी ३२ वर्षीया भवानी रास्कोटीको मंगलबार अस्पतालमा मृत्यु भएको थियो।उनले सोही अस्पतालमा सोमबार ५ किलो तौलको बच्चा जन्माएकी थिइन्। सुत्केरी गराइसक्दा आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था सामान्य थियो । तर,  सोमबार बिहान शय्याबाट उठाउने क्रममा ढलेर भवानीको मृत्यु भएको थियो ।

उनका आफन्तले शव बुझिसकेर लैजान लाग्दा अचानक उत्तेजक समुहको भिड अस्पतालमा पसेर तोडफोड गरेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा तोडफोड भएपछि मृतकका आफन्त अस्पताल प्रशासन र प्रहरीसहित वार्ता भएको थियो। छलफल भइरहँदा बस्यालमाथि कुटपिट भएको प्रहरीले जनाएको छ ।

उनीहरूले कुर्ची र टेबलका खुट्टा भाँचेर बस्यालको टाउको र छात्तिमा प्रहार गरेको अस्पतालका एक चिकित्सकले जानकारी दिए । मेसुमाथि कुटपिट भएपछि अस्पतालले इमरजेन्सीबाहेक सबै सेवा बन्द गरेको छ।