|  

नेपालमा कसैले सोच्दैमा राजतन्त्र फर्किनेवाला छैनः विमलेन्द्र निधि

१६ मंसिर, काठमाडौं । नेपाली काङ्ग्रेसका नेता विमलेन्द्र निधिले कसैले चाहँदैमा नेपालमा राजतन्त्र नफर्कने दाबी गरेका छन् ।

आज बेलाको होम अप्लायन्सेसको शाखा उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन । उनले अब नेपालमा कसैले सोच्दैमा राजतन्त्र नफर्किने जिकिर गरे । गणतन्त्र नेपाली जनताले ल्याएकाले निरन्तर रुपमा कायम रहने भन्दै काठमाडौंको कुनै गल्ली र चोकमा जुलुस निकालेर केही नहुने टिप्पणी गरे ।

नेपाली जनताले बलिदान गरेर व्यवस्था परिवर्तन गरेको भन्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली निरन्तर रहने बताए । प्रदेशमा कुनै कम्पनी खोल्नु पर्यो भने काठमाडौं जानु नपरोस, प्रदेशकै राजधानीमा त्यसको फैसला होस भनेर त्यसका लागि स्थानीय स्तरमै कर्मचारी प्रशासन चाहिने नेता निधिले बताए । सकेसम्म आफ्नो देशमा नै रोजगारी गर्नुपर्नेमा जोड दिंदै उनले बाहिर गएर सिकेका सीप नेपाल आएर सदुपयोग गर्न सकिने बताए ।

पढेर बाहिर गएर काम गर्ने प्रचलन बढेको भन्दै नेता निधिले तर आफ्नो स्थानमा त्यही शिक्षा प्रयोग गरेर खेतीको आधुनिकीकरण गर्ने, उत्पादनमूलक काम र व्यवसाय गर्ने चलन नरहेको र यही कमजोरी भएको बताए । एनआरएनए कुनै बैंक नभइ संस्था भएको र यसले पनि लगानी गर्न खोजेको छ भन्दै निधिले यसरी व्यवसायीकरण र औद्यागीकरणको लागि ज–जसले प्रयास गर्छ, साथ दिनुपर्ने बताए ।