|  

कांग्रेसलाई नयाँ ढंगबाट अगाडि बढाउन देउवाले पार्टी नेतृत्व छोड्नुपर्छः सांसद भण्डारी 

१६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले कांग्रेसलाई नयाँ ढंगबाट अगाडि बढाउन शेरबहादुर देउवाले पार्टी नेतृत्व छोड्नुपर्ने बताएका छन् ।

विधानतः २ पटक सभापति हुन नपाउने भएकाले पनि अब देउवा पछाडि हटेर कांग्रेस अगाडि बढाउन उनले सुझाव दिएका हुन् । कांग्रेस लुम्बिनी प्रदेश सम्मेलनलाई आज सम्बोधन गर्दै केन्द्रीय सदस्य तथा सांसद भण्डारीले शेखर कोइरालालाई नेतृत्वमा अगाडि सार्नुपर्ने तर्क गरे ।

भण्डारीले पार्टी सभापति देउवालाई पार्टीभित्र गुट चलाउँदा कमजोर बनेको भन्दै गुट नचलाउन सुझाव दिए । नेतृत्वमा बसेर गुट चलाउँदा तीन तहमै सबैभन्दा बढी मत ल्याएर पनि कांग्रेस कमजोर भएको नेता भण्डारीको तर्क छ । पार्टीमा गुट बनाउँदा कांग्रेसले नेतृत्व गरेका सरकारसँगै पार्टीपंक्ति कमजोर भएको भण्डारीको भनाइ छ । नेतृत्वमा गएका व्यक्तिले राम्रो काम गरेर देखाउन नसक्दा निराशा र असन्तुष्टि बढेको उनले बताए । काम नगर्ने तर नेतृत्वमा जानेले कुरा मात्र गरेर असन्तुष्टि खोख्दै हिँड्दा समस्या बढेको उनको भनाइ छ ।

अहिले धर्म, राजतन्त्र, संघीयता र गणतन्त्रका बारे प्रश्न उठेको बताउँदै भण्डारीले त्यसको जवाफ राम्रो काम गरेर देखाउनुपर्ने बताए । जनताले अहिले विकास र सुशासन खोजिरहेको उनको भनाइ थियो ।