|  

अब कांग्रेसले गठबन्धन गर्दैन: महामन्त्री थापा

१६ मंसिर, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेसले आगामी निर्वाचन एक्लै लड्नु पर्ने बताएका छन्।

कांग्रेसको प्रथम लुम्बिनी प्रदेश सम्मेलनलाई बुटवलमा सम्बोधन गर्दै थापाले हार जितलाई स्वाभाविक रुपमा लिएर अबको निर्वाचनमा एक्लै लड्नु पर्ने बताएका हुन। 

अरुको वैशाखी टेकेर निर्वाचन जित्दैमा कांग्रेस बलियो नहुने भन्दै उनले ८४ मा गठबन्धन गर्न नहुनेमा जोड दिएका हुन।

अब पार्टीलाइ बलियो बनाउनुको विकल्प छैन। हामीले हारे पनि एक्लै चुनाव लड्नु पर्छ, किन गठबन्धन गर्ने, सधैँ सोफामा बस्नु पर्छ भन्ने छैन, हारे केही समय चकटीमा बसे पनि केही हुँदैन’ उनले भने।

महामन्त्री थापाले समानुपातिक कोटाको दुरुपयोग भएको भन्दै त्यसलाई रोक्नु पर्नेमा पनि जोड दिए। समानुपातिकका नाममा दाजु, भाउजू, भाइ भतिजा पर्दा इमानदार र सामाजिक व्यक्तित्व भएका नेता कार्यकर्ताहरु अन्यायमा परेको बताए।

पार्टी भित्र लामो समय योगदान दिएका पाका, युवा, महिला हरेक निर्वाचन क्षेत्रमा रहेपनि तिनलाई चिन्न र अवसर प्रदान गर्न नसक्दा पार्टी कमजोर भएको पनि उनले बताए।

पार्टीको आन्तरिक लोकतन्त्रलाई सुदृढ गर्दै संघयताको मर्म अनुरुप पार्टी संचालन गर्नु पर्नेमा पनि महामन्त्री थापाले जोड दिए।

प्रदेश संरचनालाई खर्चिलो नबनाई कम खर्चमा राम्रो सेवा प्रदान गर्न सके संघीयता कार्यान्वयन प्रभावकारी हुने उनले बताए। पछिल्लो समय अर्थतन्त्रमा सुधारका संकेत देखा परेको भन्दै निराशालाई त्यागेर आशावादी हुन उनले आग्रह पनि गरे।