|  

अवसरको खोजीमा रित्तिदैँ गाउँ !

६ माघ, काठमाडौं । कतै ढुगांले त कतै टिनले छाएका चिटिक्क परेका घर । फराकिला आँगन, घर नजिकै ठुला ठुला बारी । छरिएर बसेको बस्ती ।

ढकमक्क फूल फुल्ने आँगन र लटरम्मै तरकारी फल्ने करेसाबारीमा घाँस झाँगिएको छ । घर नजिकैका पानीका धारामा कमिला डुल्दछन् । पिँढीमा हरियो ढुँसी देखिन्छ । रातो माटो र सेतो कमेरोमा टल्कने भित्ता उप्किएका छन् । छानो भत्किएको छ, घरको धुरीबलो र झ्याल ढोका मक्किएका छन् । ती घरहरु सुनसान । कुनैबेला दर्जनौँ बालबालिका हुर्काएको आगनमा अहिले खेल्ने कोही छैन झाडी नै बनेर झार उम्रिएको छ । ती घरहरुले मानिस आउने दिन कुरेर बसेका छन् ।समाज आधुनिकतातर्फ लम्किदै गर्दा गाउँबस्तीहरु भने खाली हुँदै गएका छन् । पहिले जताततै हराबरा देखिने गाउँका खेतियोग्य जमीन बाँझो भएका छन् ।

प्रत्येक घरमा कम्तिमा ८ / ९ जना परिवारका सदस्य हुने घरमा अहिले वृद्ध बुबा–आमा र बाल बच्चा मात्र भेटिन्छन् । गाउँमा भएका घरहरु पनि प्राय खाली भएका छन् । पहिले घना बस्ती भएको गाउँ अहिले जंगली जनावरको बास स्थान बनेको छ । वरपर, तल-माथि बस्ती कति बाक्लो हुन्थयो । सबै घर-घरमा मानिसहरू टन्न हुन्थे, निकै रमाइलो थियो । पहिलको त्यो विगत र आजको एथार्थ धेरै फरक भैसकेको छ । तर, पछिल्लो समय तीब्र रुपमा भइरहेको बसाइँसराइ र वैदेशिक रोजगारीप्रतिको बढ्दो आकर्षणका कारण ग्रामीण सौन्दर्य रित्तिदै गएको छ । अहिले प्रत्येक जिल्लाका गाउँ बसाइँसराइँका कारण एक्लिदै जान थालेको छ । गाउँमा घरहरु त छन् तर, घरमा बस्ने मानिसहरु छैनन् । कतै भूकम्प र बाढी पहिरोका कारण घरहरु भत्कीएको अवस्थामा छन् ।

बस्ती पातलिदै जान थालेको छ । घर घरमा भीरपहरा र खोलाहरु छिचोल्दै सडक पुगेको छ । सुविधापनि थपिएका छन् । विद्यालय, स्वास्थ्यचौकीदेखि लिएर खानेपानी र सिँचाइको राम्रो सुविधा भए पनि मानिसहरु अझ थप सुविधाको खोजीमा शहरबजार र तराईतिर जानेक्रम भने रोकिएको छ्रैन । आफ्नै रीतिथिति र जीवनशैलीमा रमाएको जिल्लाका दर्जनौँ गाउँ पछिल्लो समय बसाइँसराइका कारण उजाडिँदै जान थालेका छन् । बस्ने मानिसहरु भेटिदैनन् । ताल्चा लगाइएको घरको ढोका, झ्यालहरुमा माकुराको ज्याले साथै अगाडिको पिँढी र आगनमा झार उम्रिएको देख्न्छि  ।

प्लाष्टिकले ओत दिएर घर भूकम्पका कारण भत्किएका घरहरुमा प्लाष्टिकले ओडाएर अडाइएको पाइन्छ  । कुनै गाउँका घरहरुमा भेटिएका केही  मानिसहरु पनि उमेरले जेष्ठ नागरिकहरु नै भएका पाइन्छ । रित्तिएका घरहरुका खेतबारी पनि बाँझा छन् । गाउँघर रित्तिदै जाने सिलसिला कुनै एक गाउँको मात्र नभएर ७७ वटै जिल्लाका अधिकांश बस्तीहरुको यो साझा समस्या हो । एक दशकअघिसम्म बाक्लो बस्ती भएका गाउँ बढ्दो बसाइँसराइले पातलिँदै गएका छन् । अहिले अवस्था पूरै फेरिएको छ । यति मात्र हैन गाउँमा रहेका केही मानिसहरुलाई केही समस्या आइहाले हारगुहार गर्दा सुन्ने र सहयोग गर्ने छिमेकीसमेत नपाइने अवस्था सिर्जना भएको छ । गाउँघरमा कसैको घरमा कुनै घटना भयो भने पनि थाहा पाउने र आडभरोस दिने मानिस छैन ।
के कारण रित्तिदै छ त गाउँघरको बस्ती ? 
मान्छे गाउँबाट विस्थापित हुने परिस्थिती माओवादी जनयूद्धबाट सुरु भएको थियो । त्यतीखेरदेखि सुरु भएको यो क्रम अझै पनि रोकिएको छैन । गाउँघरमा बनेका विकासका पूर्वाधारहरू जनयुद्धका नाममा पूरा–पूर धोस्त पार्दै हिड्यो । गाउँ घरमा खुलेका बोर्डिङ्ग स्कूललाई बुर्जुवा शिक्षा भन्दै आगो लगाइयो । गाउँ घरमा बस्न नसक्ने वातावरण सिर्जना भयो । हुने खानेहरू शहरमा जग्गा जमीन किनेर बस्न लागे । गरिब निमुखाहरू भारत लगायत तेस्रो मुलुकमा जान बाध्य भए ।बाँकी भएका गाउँहरु पनि पञ्चायती व्यवस्था भन्दा कम छैन ।

टाठा-बाठाहरूकै हालिमुहाली छ । त्यस्तै ग्रामीण भेगका बस्तीहरु खाली हुनुमा शिक्षा, स्वास्थ्य पनि एक प्रमुख कारण हो । गुणस्तरीय शिक्षा, स्वास्थ्य र भौतिक सुविधा खोज्दै तराई शहर जाने क्रम तीव्र बन्दै जाँदा ग्रामीण भेगका बस्ती शून्य बन्दै गएका हुन् । पछिल्लो समय अध्ययनका लागि भन्दै विदेशिने विद्यार्थीका कारण गाउँहरु रित्तिँनु पनि एक प्रमुख कारण बनेको छ । अवसरको खोजी गर्न भन्दै दैनिक सैयौंको संख्याका युवा विद्यार्थीहरु विदेश पलायन भइरहेका छन् । वैदेशिक रोजगारीका लागि भन्दै दैनिक २ हजार बढी युवाहरु विदेश पलायन भइरहेका छन् । जस्तो सुकै जोखिम मोलेर पनि युवाहरु विदेशिएको अवस्थाले उनीहरुको बाध्यता दर्शाईरहेको छ  ।

विदेशमा अध्ययन गर्न जान भन्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाबाट वर्सेनि डेढ लाख बढीले एनओसी लिने गरेका छन् । यसरी दिनानुदिन अध्ययन गर्न भन्दै विदेशिने युवा विद्यार्थीहरुको ताँतीले अरबौं रुपैयाँ मात्रै बाहिरिएको छैन, नेपालको शैक्षिक अवस्थामाथि पनि प्रश्न तेर्सिएका छन् ।वैदेशिक रोजगारीका लागि मात्र होइन, अध्ययनका लागि भन्दै विदेशिने युवा विद्यार्थीहरुको ताँती पनि डरलाग्दो छ । अभिभावकहरुले नेपालको कुन विद्यालयमा पढाउँदा सजिलै युरोप अमेरिका पठाउन सकिन्छ भन्ने खोजीमा देखिन्छन् भने निजी विद्यालयहरु पनि त्यस्तै सपना बाँडिरहेका छन् । जसले गर्दा नेपालबाटै बर्सेनि अरबौं अर्ब रुपैयाँ बाहिरिएको छ ।

कुन आर्थिक वर्षमा कति रकम बाहिरियो ?

आर्थिक वर्ष २०७९ / ८०- १ खर्ब ४२ करोड
आर्थिक वर्ष २०७८ / ७९- ६७ अर्ब ७० करोड
आर्थिक वर्ष २०७७ / ७८- २४ अर्ब ९५ करोड
आर्थिक वर्ष २०७६ / ७७-२५ अर्ब ८१ करोड
आर्थिक वर्ष २०७५ / ७६- ४६ अर्ब ३२ करोड

युवा विद्यार्थीहरु यसरी विदेश पलायन हुने हो भने आगामी दिनमा मुलुकको अवस्था के होला भन्ने चिन्ता सरोकारवालाहरुलाई नभएको पनि होइन । तर युवा विद्यार्थीलाई रोक्न सक्ने आधार भेटाउँदैनन् । यसका साथै गाउँमा उत्पादनमुखी काममा लाग्नुभन्दा जागिरको पैसाले सहरको बसाईमा रमाउनेको सङ्ख्या अधिक बढ्नु, अरुको देखासिकी  गर्नु, भौतिक सुविधाको खोजी,वैदेशिक रोजगारीको सिलसिलामा लाग्नु, पैसा कमाउने मोहले पनि युवालाई गाउँ बिर्सन बाध्य पार्नु। कतिपयले गाउँमा भएको घर, खेतबारी बेचेर शहर पस्नुलगायत रहेका छन् ।

शहर केन्द्रित बसाई पछिल्लो दुई दशकदेखि बढेर गएको देखिन्छ  । पचासको दशकमा देशमा सुरु भएको सशस्त्र जनयुद्धले धेरै गाउँका मानिसहरु सदरमुकाम र बजार क्षेत्रमा झरे । युद्ध सकिएको साठीको दशकमा यो क्रम रोकिने विश्वास थियो तर बसाइँसराइ रोकिएन । हुनत पछिल्लो राजनीतिक मुद्दा पनि बसाइँसराइ रोक्नुपर्छ भन्ने भएको छ । निर्वाचनका बेलामा उम्मेदवारहरुले बसाइँसराइँ रोक्ने योजना सार्वजनिक गरेता पनि व्यवहारमा भने आउन सकेको छैन । बसाइँ सरेर जाने क्रमले गाउँमा विकास निर्माणको काम गर्नसमेत समस्या हुने गरेको वृद्धाहरुको भनाइ छ । गाउँबाट  सङ्घीयता कार्यान्वयनमा आएसँगै सेवा र सुविधा खोज्दै गाउँबाट सहर झर्ने क्रम रोकिने अपेक्षा गरिएको थियो ।

तर गाउँमा रोजगारी, शिक्षा, स्वास्थ्य र अन्य आधारभूत सेवा थपिदै गए पनि बसाइँसराइ घट्नुको साटो बढिरहनु चन्ताको विषय हो । बसाइँ सराइसँगै गाउँको उत्पादन पनि ह्वात्तै घटेको छ । खेतीयोग्य जमिन बाँझै पल्टिएका छन् । दैनिक उपभोग्य सामानका लागि बजारमाथि निर्भर रहनुपर्ने अवस्था छ । बसाइँ सराइ बढ्दै जाँदा त्यसले सामाजिक संरचनामा पनि प्रभाव पार्ने देखिन्छ ।आमाबुवा पनि छोराछोरीकै साथ लागेर शहर झर्ने क्रम बढ्दा गाउँका खेतीयोग्य जमिन जङ्गलमा परिणत हुँदै गएका छन् । वर्षाैं पहिलेदेखि शुरु भएको बसाइँसराइ गाउँगाउँमा सडक, बत्ती, खानेपानी पुग्दा पनि रोकिन सकेको छैन । अहिले गाउँमा सुन्दर प्रकृति, आवश्यक विकास र थुप्रै अवसर सबै छन् ।

छैनन् त केवल प्रकृति, विकास र अवसरलाई सदुपयोग गर्ने युवा । राजनीतिक परिवर्तन जे–जति भए ती सबै सत्ता र शक्तिका लागि मात्र भए । राजनीतिक व्यवस्था जति फेरिए पनि जनताका समस्याहरु झन जटिल हुँदै गए । उनीहरुले परिवर्तन आयो भन्छन् । केलाई परिवर्तन भन्ने ? गरिबी कै कारण विस्थापित हुन पुगेको गाउँ, भत्किएका घर, भत्किएर बाँकी रहेका माटे गारोमा ठिङ्ग उभिएको मक्किएका खावा जस्तै जनताको मन पनि मक्किएको छ ।

जनता भोक भोकै मर्नु पर्ने अवस्था छ । स्वास्थ्य, शिक्षा लगायत आधारभुत आवश्यकता पनि पूरा हुन सकेका छैनन् । गरिबीका कारण अवसरको खोजीमा आज गाउँ बस्तीहरू रित्तिएका छन् । यता नेपालका धेरै घरहरू बसोबासविहीन अवस्थामा पाइनुलाई विज्ञहरूले पर्वतीय भेग रित्तिँदै गइरहेको र त्यहाँको आर्थिक भविष्य सङ्कटमा रहेको चेतावनीका रूपमा औँल्याएका छन । जनगणना २०७८ को एक पूरक प्रतिवेदनको विवरणमा नेपालको ७५.५ लाखभन्दा धेरै घरहरूमध्ये चार लाख ७२ हजारभन्दा धेरै खाली पाइएका थिए।