|  

एक महिने स्वस्थानी व्रत आरम्भ, यस्तो छ धार्मिक महत्व

११ माघ, काठमाडौं । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत आजदेखि सुरु भएको छ ।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । यो कथा कुमार र अगत्स्यबीचको संवाद हो र मूल कथाको श्रोत स्कन्ध पुराण हो । स्कन्ध पुराण भनेको शिव र पार्वतीका पुत्र कुमारबाट वाचन गरिएको हिन्दु धार्मिक ग्रन्थ हो । स्वस्थानी कथामा ३१ अध्याय रहेको छ । 

स्वस्थानी व्रत कथामा खासगरी सत्य युगमा बिष्णुको सल्लाह बमोजिम हिमालय पुत्री पार्वतीले महादेव वर पाऊँ भनी बालुवाको शिवलिङ्ग बनाई निराहार व्रत र तपस्या गरी आफूले चाहेको मनोकाङ्क्षा पूरा भएको प्रमुख घटना र कथावस्तु रहेको छ । स्वस्थानी व्रतकथामा उल्लेख भएअनुसार महादेवकी पत्नी सतीदेवीले आफ्ना पतिलाई बाबुले गरेको अपमान सहन नसकी यज्ञकुण्डमा प्राण त्यागेपछि हिमालय र मेनकाकी छोरी पार्वतीका रूपमा उनको जन्म भएको हो । पार्वती सानै उमेरदेखि नै महादेव पति पाउने कामना गरिरहन्थिन । विवाहयोग्य भएपछि पिता हिमालयले भगवान विष्णुलाई कन्यादान गरिदिने कुरा थाहा पाएपछि पार्वती भागेर अनकन्टार वनमा गई महादेवको ध्यान गर्न लागिन । यसबाट खुसी भएर महादेवले आफूलाई पतिका रूपमा पाउन विष्णुले भने अनुसार गर्न सल्लाह दिए । विष्णुले महादेव पति पाउन स्वस्थानी व्रत गर्ने सल्लाह दिएपछि पार्वतीले विधिपूर्वक एक महिनासम्म स्वस्थानीको व्रत गरेकामा उनले महादेव पति पाएको विश्वास गरिन्छ । व्रतका प्रभावले शिव पार्वतीको विवाह भएको कुरा पौराणिक धर्म ग्रन्थहरूमा पनि चर्चा भएका कारण परम्परागत रूपमा उक्त व्रतकथा प्रचलित हुँदै आएको भनाइ छ ।

त्यस्तै स्वस्थानीमा गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथा समेत वर्णन गरिएको बताइन्छ । सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रशन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनी स्कन्द पुराणमा उल्लेख गरिएको पाइन्छ । स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन भनी पुराणमा उल्लेख गरिएको छ । यस्ती देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुन्छ भन्ने पनि विश्वास छ । रोगव्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रूपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथा समेत नेपाली समुदायमा प्रचलित छ । व्रतपछि बिछोडमा परेका नाग–नागिनीको समेत पुनर्मिलन भएको कथामा उल्लेख छ ।

स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायणपछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास गरिन्छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ । 
विशेष गरी महिलाहरू मात्र व्रतालु हुने यो व्रत बस्नाले ब्रताकथामा बर्णन गरिए जस्तै सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ । महिलाहरुले विधिवत रुपमा पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना श्रीस्वस्थानी व्रत बस्छन । अन्तिम दिन अर्थात माघ शुक्ल पूर्णिमाका दिन एक सय आठ जनै, एक सय आठ सुपारी, एक सय आठ पान, एक सय आठ फूल, एक सय आठ रोटी, एक सय आठ अक्षता विभिन्न थरिका फलफूल, धुप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दुर, वस्त्र, भेटी चढाइ व्रतको कामना पूर्ण होस भनी भगवतीलाई अघ्र्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ–आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मितछोरालाई एवं मितछोरा पनि नभएमा कामना सिद्ध होस भनी नजिकको पवित्र नदीमा लगी बगाउने व्रत विधि छ । सय रोटी ब्रतालु आफैँले फलाहार गरी रातमा जाग्राम बसिन्छ । जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ । यसो गरेमा बर्तालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । 

स्वस्थानी व्रतसँग साँखु शालिनदी मेला पनि जोडिएको छ । स्वस्थानी व्रत शुरु भएपछि एक महिनासम्म उपत्यकाको उत्तर पूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालिनदीमा माघ स्नानसहित माधवनारायणको मेला पनि लाग्ने गर्दछ । माघ महिनामा त्यहाँ गइ स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ । यहि विश्वासमा प्रत्येक वर्ष त्यहाँ लाखौँ भक्तजन पुग्ने गर्दछन् ।

आजको युगमा हाम्रो समाज घोर भौतिकता तर्फ अग्रसर भइरहेको छ । हाम्रा संस्कृति, रीति रिवाज र परम्परा सबै नासिदै गएका छन् । जताततै पाश्चात्य संस्कृतिको ब्यापक प्रभाव परेको छ । भीषण सांस्कृतिक हमला जस्तो भईरहेको छ । यस्तो अवस्थामा हामी सवै धर्मप्रेमी महानुभावहरूले आफ्नो संस्कृति जोगाइ राख्ने प्रयास गर्नु पर्दछ । आफ्ना संतति हरूलाई हाम्रा रीति-स्थिति पर्व, परम्परा, अनुशासन, र कर्तव्यको बोध गराउनु पर्दछ । यो श्री स्वस्थानी माताको व्रत कुनै अन्धविश्वासी कर्मकाण्ड होइन । यो प्रत्यक्ष वैज्ञानिक पनि हो । यसले प्रत्येक स्त्री-पुरुषलाई भित्रै देखि इमानदार, कर्तव्यनिष्ठ, निरपराधी र अनुशासित बनाउनमा प्रत्यक्ष फाइदा पुर्याएकै हुन्छ । १ महिना सम्म १ छाक मात्रै भोजन ग्रहण गर्नाले पेट भित्रका विभिन्न पुराना रोगहरू स्वतः ठिक हुन्छन् । यो बेला भोजन पचाउन प्रयोग हुने ऊर्जालाई फुर्सद मिल्नाले पेटभित्रका विभिन्न अवशिष्ट पदार्थलाई निस्कासित गर्ने र रोगग्रस्त अङ्गहरू लाई मर्मत गर्ने अवसर मिलेको हुन्छ भनी वैज्ञानिकहरूले स्वीकार गरेका छन् । उपवासको अवधिमा पेटभित्र वर्षौ देखि संचित भएको मल निस्काशन हुने हुँदा पानी भने प्रसस्तै पिउनु पर्दछ भन्ने वैज्ञानिकहरूको धारणा छ । बढी पानी नपिए शरीरलाई हानी हुन सक्ने कुरा पनि वैज्ञानिकहरू बताउँछन । संसारमा जति पाश्चात्य संस्कृतिको अनुकरण र नास्तिकता हिन्दु धर्ममा मौलाएको छ, त्यति अन्य धर्ममा नभएको एक सर्वेक्षणले देखाएको छ । यस्तो अवस्थामा हामी सवै संस्कृति पे्रमी, धर्म प्रेमी र देश प्रेमी जनताहरूले आफ्नो धर्म र संस्कृति जोगाई राख्न आ-आफ्नो तर्फबाट समुचित कदम चाल्नु आवश्यक छ ।