|  

कुष्ठरोगबाट १४ वर्ष मुनिका बालबालिका बढी प्रभावित 

२२ माघ, काठमाडौं । बाँकेमा कुष्ठरोगबाट १४ वर्ष मुनिका बालबालिका बढी प्रभावित हुँदै गएको पाइएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्म भेटिएका नयाँ बिरामीमा १३ जना १४ वर्ष मुनिका बालबालिका रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । बाँकेमा सबै स्वास्थ्य संस्थाबाट संकलन गरिएको तथ्यांकअनुसार पछिल्लो समय कुष्ठरोगबाट बालबालिका प्रभावित भएको पाइएको हो ।

खुला सिमानाका कारण बाँकेबाट छिमेकी मुलुक भारतमा बढी आवतजावत हुने भएकाले कुष्ठ रोगको जोखिम घट्न सकेको छैन । बाँकेको जानकी गाउँपालिकामा आइएनएपले सञ्चालन गरेको साइनिङ अस्पतालमा चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म छ महिनामा ६० नयाँ कुष्ठरोगी फेला परेका छन् ।

तीमध्ये २९ जना बाँकेका बिरामी रहेको पाइएको छ । साइनिङ अस्पतालमा फेला परेका नयाँ बिरामीमध्ये १५ जना भारतीय नागरिक रहेका छन् । बर्दिया र अन्य पहाडी जिल्लाबाट जाँच गराउन आउने बिरामीमा पनि कुष्ठरोग पत्ता लागिरहेको छ ।