|  

सहकारी ठगी प्रकरणमा रवि लामिछानेविरुद्ध पनि प्रहरीले थाल्यो अनुसन्धान

२३ माघ, काठमाडौं ।  नेपाल प्रहरीले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि अनुसन्धान शुरू गरेको छ ।

लामिछानेविरुद्ध पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले गैरकानूनीरूपमा ऋण लिएर बचत हिनामिना गरेको भन्दै पूरक जाहेरी दिएका छन् । ऋण लिएर सहकारीको रकम हिनामिना गरेको भनेर नेपालमै पहिलोपटक जाहेरी परेको कास्की प्रहरीले जनाएको छ । ‘यसरी परेको यो नेपालमै सम्भवतः पहिलो जाहेरी हो ।

नेपाल अहिलेसम्म कुनै पनि ऋणीविरुद्ध यसरी उजुरी परेको जानकारी छैन,’प्रहरीले भन्यो ‘यसलाई हामीले नितान्त नयाँ ढंगले अनुसन्धान गर्दैछौं ।’प्रहरीले अहिले उनीहरूले कसरी पैसा हिनामिना गरे भन्ने विषयमा अनुसन्धान गरिरहेको छ । प्रहरीले रविले सहकारीबाट कसरी पैसा लिएका थिए ? पैसा लिँदा धितो कति राखेका थिए ? भन्ने विषयमा अनुसन्धान थालेको छ ।
सहकारी ऐन– २०७४ को दफा १२२ (ग) बमोजिमको कसूर देखिएपछि जाहेरी लिइएको प्रहरीले जनाएको छ ।

यस दफाको खण्ड (छ)मा ‘झुट्टा वा गलत विवरण पेस गरी कर्जा लिएमा, राखेको धितो कच्चा भएमा वा ऋण हिनामिना गरेमा’ कसूर मानिने व्यवस्था भएको प्रहरीले जनाएको छ । दफाको खण्ड (च) मा कुनै पनि सदस्यले एक्लै वा अन्य सदस्यको मिलेमतोमा सहकारी संस्थाको शेयर वा बचत रकम आफूखुशी परिचालन गरी सहकारी संस्थालाई हानी नोक्सानी पुर्‍याएमा कसूर मानिने भनिएको छ ।

सहकारी ऐन दफा १२२ (ट)मा झुट्टा विवरणको आधारमा परियोजनाको लागत अस्वाभाविक रूपमा बढाई बढी ऋण लिएमा वा दिएमा पनि कसूर मानिने भएकाले पनि अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो । रवि लामिछाने, तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन, सहकारीका पूर्व अध्यक्ष ज्ञानबहादुर बम्जन, नेत्रपाणि बास्तोलासहित १८ जनाविरुद्ध पूरक जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ । यसअघि सूर्यदर्शन सहकारी प्रकरणमा १९ जना सञ्चालकविरुद्ध मुद्दा परिसकेको छ ।