|  

जोसुकै होस्, जतिसुकै शक्तिशाली होस् जग्गा हडप्ने र सहकारी ठगीका मतियारलाई कारबाही गर्नुपर्छः गगन थापा

२४ माघ, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले जतिसुकै शक्तिशाली भए पनि सरकारी जग्गा हडप्ने र सहकारी ठगीका मतियारलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा पार्टीका तर्फबाट धारणा राख्दै कांग्रेस महामन्त्रीसमेत रहेका थापाले सरकारी जग्गा हडप्ने र सहकारी ठगीका मतियारलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए।जोसुकै होस्, जतिसुकै शक्तिशाली होस्। राजनीतिक शक्ति होस् कि आर्थिक शक्ति होस् । नेपालको सार्वजनिक जग्गा कसैले हडप्छ भने सजाय पाउनु पर्दैन? दण्ड पाउनु पर्दैन ? जतिसुकै शक्तिशाली होस्, जुनसुकै पदमा बसेको होस् । हातमा तागत, कलम होस् ।

नागरिकता बनाउन कीर्ते गर्छ भने फलानो दलसँग जोडिएको छ, त्यसकारणले गर्दा कीर्ते गरे पनि माफी हुन्छ, चल्छ?,’ महामन्त्री थापाले प्रश्न गरे । ठगीको धन्दा चलाउनेलाई पनि कारबाही गरिनुपर्ने थापाले बताए । आम नागरिकहरूले निक्षेप संकलन गरेर जम्मा गरेको सहकारीमा ठगीको धन्दा चलाउँछ र ठगीको मतियार हुन्छ भने कानुनी कारबाहीको दायरामा आउनु पर्दैन?

कानुनले कारबाही गर्नु पर्दैन?,’ थापाले प्रश्न गरे, ‘त्यसैले सुशासनका लागि आजको दिनको मन्त्र भनेको कानुन र विधिको शासन हो । चाहे जग्गा मिच्ने, हडप्ने होस्, चाहे नागरिकता कीर्ते वा सहकारीमा ठग्ने होस्, यताको होस् उताको होस्। जुनसुकै दलको होस् । दलभन्दा बाहिरको होस् । शक्तिशाली होस् कसैले उन्मुक्ति पाउनु हुन्न।’