|  

नेपालमा मानसिक रोग चुनौती बन्दैछः स्वास्थ्यमन्त्री बस्नेत

२५ माघ, काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालमा मानसिक रोग चुनौती बनिरहेको बताएका छन् ।

बिहीबार ललितपुरमा किशोरकिशोरी मानसिक स्वास्थ्य इकाइ उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा बालबालिकादेखि किशोरकिशोरीहरुमा मानसिक रोगको समस्या बढ्दै गइरहेको बताए । उनले भने, ‘मानसिक रोगको बारेमा हामीले कुरा गर्दा, नेपालमा सयमा १० जना मानसिक रोगी फेला पर्न थालेको छ । यो अवस्थामा हामी सबैलाई चुनौती नै भइसकेको छ ।

बच्चाहरुमा पनि त्यस्तै अवस्था शुरु भएको छ । यही सन्दर्भमा ३७ वर्ष पहिलादेखि बालबालिकाको हक अधिकारका लागि लड्दै आएको सिभी नेपालले पाटन मानसिक अस्पतालसँग सहकार्य गरेर अरु सहभागीहरुलाई जुटाएर जुन किसिमले किशोर किशोरीहरुलाई मानसिक रोगको उपचार गर्ने युनिट बनाउनुभएको छ । यो प्रशंसा गरेर मात्रै पुग्दैन । यो सेवा बिस्तार साथै प्रदेशमा सम्भव भएसम्म बिस्तार गर्न सरकारले पनि आफ्नो भुमिका निर्वाह गर्नुपर्छ ।’

उनले मानसिक रोगको उपचार केन्द्र सातै प्रदेशमा बिस्तार गर्न जरुरी रहेको बताए  । उनले सेवा बिस्तारका लागि मन्त्रालयको तर्फबाट सबै सहयोग गर्न आफू तयार रहेको बताए । मन्त्री बस्नेतले मानसिक रोगी किन बढिरहेका छन् भन्नेबारेमा अध्ययन हुन जरुरी रहेको बताए ।