|  

मेटाले फेसबुक, इन्स्टाग्राम र थ्रेडमा अपलोड हुने तस्वीरमा लेबल लगाउने

२७ माघ, काठमाडौं । मेटाले फेसबुक, इन्स्टाग्राम र थ्रेडमा अपलोड हुने तस्वीरमा लेबल लगाउने भएको छ । कम्पनीले विश्वभर आउँदै गरेका निर्वाचनलाई लक्षित गर्दै यस किसिमको व्यवस्था गर्न लागेको हो ।

यसका साथै वास्तविकतामा आधारित भिडिओ वा अडियोको अंश एआईले बनाएको कुरा नखुलाउने प्रयोगकर्तालाई समेत कम्पनीले दण्डित गर्ने बताइएको छ । मेटाका विश्व मामिला अध्यक्ष निक क्लेगले एक अन्तर्वार्ताका क्रममा एआई निर्मित मिडियालाई वास्तविकतासँग छुट्याउन मुस्किल हुँदै गएको भन्दै त्यसको सामना गर्न यस किसिमका कदम चाल्न लागिएको बताएका छन् ।

अमेरिकी सरकारले समेत प्रविधि कम्पनीहरूलाई एआईबाट सिर्जना गरिएका सामग्री सजिलै पहिचान गर्न सकिने गरी वाटरमार्क लगाउने व्यवस्था गर्न भनिरहेको छ । क्लेगका अनुसार मेटाले एआईबाट सिर्जना गरिएका सामग्री पहिचान गर्ने टुल बनाइरहेको छ ।  कम्पनीले गुगल, ओपनएआई, माइक्रोसफ्ट, एडोबी, मिडजर्नी र शटरस्टकका एआई टुलको सहयोगमा तयार पारेका फोटोमा समेत वाटरमार्क तथा लेबल लगाउनेछ ।

केजले भनेका छन् कि एआईले तयार पारेका भिडिओ तथा अडियो पहिचान गर्ने मापदण्ड बनाउने सवालमा भने उद्योग निकै पछाडि छ ।मेटाले विद्यमान सामग्रीको आधिकारिकता पहिचान गर्ने अभियानमा काम गरिरहेको पार्टनरशिप अन एआई जस्ता समूहसँग मिलेर समेत काम गरिरहेको छ ।