|  

एक पूर्व कर्मचारीद्वारा टिकटकविरुद्ध मुद्दा दर्ता

२८ माघ, काठमाडौं । सोसल मिडिया कम्पनी टिकटककी एक पूर्व उच्च पदस्थ कर्मचारीले टिकटक र उसको चिनियाँ मातृ कम्पनी बाइटडान्स विरुद्ध मुद्दा दर्ता गरेकी छन् ।

कम्पनीको मार्केटिंग विभागकी पूर्व उच्चपदस्थ कर्मचारी रहेकी केटी प्युरिसले यौन शोषण, उमेर तथा विकलांगतासँग सम्बन्धित भेदभावका विषयमा उजुरी गर्दा आफूलाई जागिरबाट बर्खास्त गरिएको बताएकी छिन । अमेरिकाको म्यानहटनस्थित संघीय अदालतमा दायर गरेको निवेदनमा प्युरिसले सन २०२२ मा आफुले सुपरीवेक्षक तथा मानव संशाधन विभागलाई पूर्वाग्रहको बारेमा सूचना दिएको र एउटा घटनामा आफू यौन उत्पीडनको सिकार भएको जानकारी पनि दिएका कारण आफूलाई जागिरबाट निकालिएको जिकिर गरेकी छिन ।

टिकटकको जागिरबाट निकालिंदा प्युरिसको उमेर करिब ५० वर्षको थियो । आफूलाई आफ्नो उमेरका बारेमा पनि अपमानजनक टिप्पणीहरुको सिकार हुनुपरेको गुनासो उनले गरेकी छिन । बाइटडान्सका अध्यक्ष झांग लिडोंगले महिलाहरु हरक्षण शान्त र विनम्र हुनुपर्ने र महिला कर्मचारीहरुमा विनम्रता र नम्रता कायम गर्ने कुरालाई प्राथमिकता दिने गर्दथे । आफ्नो जागिरको तनाव तथा दबाबबाट उत्पन्न भएको अस्वस्थताबाट मुक्त हुनका लागि विदा मागेको भएपनि टिकटकले बिदा दिन अस्वीकार गरेको दाबी प्युरिसको छ ।

उता पूर्वकर्मचारीले मुद्दा दायर गरेको विषयमा टिकटक तथा बाइटडान्सले कुनै पनि आधिकारिक प्रतिक्रिया जनाएका छैनन । प्युरिसका वकिल मार्जोरी मेसिडोर र मोनिका हिंकेनले एक संयुक्त विज्ञप्तिमा भनेका छन, ‘त्यधिक सफल हुनुका बाबजुत भेदभावको उजुरी गरेबापत उनले प्रतिशोधको सामना गर्नुपर्यो । प्युरिसको विरुद्धमा टिकटकले गरेको कारबाही अवैध छ र हामी उनको अधिकारलाई सही स्थापित गर्नका लागि तत्पर छौँ ।’

प्युरिसले यसअघि गुगल, फेसबुक तथा अन्य विभिन्न विज्ञापन एजेन्सीहरुमा पनि काम गरिसकेकी छिन । टिकटकविरुद्ध दायर गरेको मुद्दामा उनले टिकटक र बाइटडान्सले अमेरिका र न्युयोर्क राज्य तथा सहरको कार्यस्थल भेदभाव तथा प्रतिशोध निषेध गर्ने कानूनको उल्लंघन गरेको दाबी गरेकी छिन् । साथै उनले आर्थिक क्षति, पीडा तथा आफ्नो प्रतिष्ठा र करिअरमा पुगेको क्षतिको पनि क्षतिपूर्ति माग गरेकी छिन ।