|  

बैंकिङ प्रणालीबाट २५ अर्ब तरलता तान्दै राष्ट्र बैंक

२८ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीमार्फत २५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ ।

बैैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत ७ दिनका लागि २५ अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको हो । पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप (डिपोजिट) बढिरहेको छ तर सोही अनुसार कर्जा माग नहुँदा तरलता थुप्रिरहेको छ । त्यसैले केन्द्रीय बैंकले सस्तो ब्याजमा निक्षेप संकलन उपकरणमार्फत निरन्तर बैंकिङ प्रणालीमार्फत तरलता तानिरहेको छ ।

माघ २३ गतेको पछिल्लो रिपोर्ट अनुसार बैंक तथा वित्तीय संस्थाहरूले संकलन गरेको निक्षेपको आकार ६१ खर्ब ५३ अर्ब रुपैयाँ रहेको छ । तर सो अवधिमा बैंकहरुले गरेको कर्जा लगानी भने ५० खर्ब ८६ अर्ब रुपैयाँ हाराहारी मात्र देखिन्छ । अन्तर बैंक ब्याजदर ३.०९ प्रतिशत रहेकोमा ट्रेजरी बिलको ब्याजदर समेत अधिकतम ४ प्रतिशत हाराहारीमा झरेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले कर्जा/निक्षेप अनुपात (सीडी रेसिया) ८०.२६ प्रतिशत मात्र कायम गरेका छन । यसो हुँदा हाल बैंकहरुसँग ५ खर्बमाथि लगानी योग्य पुँजी (तरलता) रहेको बुझिएको छ । जसले गर्दा पनि केन्द्रीय बैंकले पछिल्ला दिनहरूमा रिभर्स रिपो अर्थात निक्षेप संकलन उपकरणमार्फत लगातार बैंकिङ प्रणालीमार्फत तरलता प्रशोचन गरिरहेको छ ।