|  

फेसबुकमा नोट लेखेर रक्तदाता अर्जुन मैनालीले गरे आत्मदाह  

२९ माघ, काठमाडौं । दुई सय पटकभन्दा बढी रक्तदान गरेका अर्जुन मैनालीले अमेरिकामा आत्मदाह गरेका छन् ।

अमेरिकाको नर्थ क्यारोलिनास्थित लट्टा नेचर प्रिजर्भस्थित पार्कमा उनको शव फेला परेको छ ।प्रहरीले पूर्ण रुपमा जलेको अवस्थामा शव भेट्टाएको हो । उनी एउटा भाडाको कार लिएर सो पार्कमा पुगेका थिए । उनी चढेको कार पनि जलेको छ । कारमा आगो लगाएर आत्महत्या गरेको अनुमान गरिएको छ । मैनालीको शव अहिले नर्थ क्यारोलिना प्रहरीको प्यारामेडिकल टिमले अनुसन्धानका लागि लिएको बताइएको छ ।

परिवारलाई प्रहरीले निधन पुष्टि गर्दै पत्र दिइसकेको छ । मैनालीले फेसबुकमा लामो स्टाटस लेख्दै आफूले आत्महत्या गर्न लागेको बताएका थिए । काभ्रे घर भएका रक्तदाता मैनाली सन् २००७ / ०८ देखि अमेरिकामा बसोबास गर्न थालेका हुन् । सुरुमा उनी न्यूयोर्कमा बस्ने गर्थे । अहिले नर्थ क्यारोलिनामा परिवारसहित बसिरहेका थिए ।

उनको परिवारमा श्रीमती एक छोरा र एक छोरी छन् । छोरीको विवाह भइसकेको छ भने छोरा सानै छन् ।मैनालीका साला र उनको परिवार पनि नर्थ क्यारोलिनामै बस्छन् । मैनालीले आफ्नो स्टाटसमा साला र उनकी पत्नीप्रति गुनासो गरेका छन् ।आफ्नो स्टाटसमा मैनालीले ‘अग्नीको बाटोबाट परलोक जान लागेको’ लेखेका छन् । यसका लागि आफूले ४ दिन अगाडि सेतो कार भाडामा लिएर आएको स्टाटसमा उल्लेख छ ।