|  

उपकुलपति नियुक्तिबारे कुनै राजनीतिक हस्तक्षेप भएको छैनः शिक्षा सचिव अधिकारी

२९ माघ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले त्रिभुवन विश्वविद्यालयमा भीसी (उपकुलपति) नियुक्तिबारे कुनै राजनीतिक हस्तक्षेप नभएको दाबी गरेका छन् । 

प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उपस्थित भएका उनले यस्तो दाबी गरेका हुन । उनले समिति बैठकमा भने, ‘कुनै राजनीतिक हस्तक्षेप भएको छैन। गोप्य कोठा बनाइएको छ । त्यहाँ तालाबन्दी र डकुमेन्ट सिलबन्दी गरिएको छ । त्यहाँ मेरिटोक्रेसी शैली अपनाएर काम गरेका छौँ ।’

उनले पहिले पहिले भीसी नियुक्तिमा यस्तो अभ्यास नगरिएको समेत उल्लेख गरे । उनले यो सिफारिस समिति भएको बताउँदै सर्च कमिटी नभएको बताए । निवेदन परेका ४३ मध्ये एकराज ओझाबाहेक अरुको दर्ता भएको र त्यसमध्ये १४ जना सर्ट लिस्टमा परेको उनले जानकारी दिए । आजदेखि ३ दिन प्रस्तुतीकरण हुने र त्यसपछि अन्तर्वार्ता हुने उनको भनाइ थियो । सिफारिस समिति स्वतन्त्र रहेको उनको दाबी छ ।