|  

अनिल र भीमले शतक बनाउँदा क्यानडाविरुद्धको शृंखलामा नेपालको ‘क्लिन स्विप’

२९ माघ, काठमाडौं । अनिलकुमार साह र भीम सार्कीको शतकप्रेरित नेपालले क्यानडाविरुद्ध ९ विकेटको सानदार जित निकाल्दै एकदिवसीय शृंखलामा ‘क्लिन स्विप’ गरेको छ ।

क्यानडाले दिएको २३३ रनको लक्ष्य पछाएको नेपालले ४४.३ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

नेपालका लागि अनिल शाह र भीम सार्की शतकीय पारी खेलेका थिए । अनिलले अविजित ११२ र भीमले अविजित १०१ रन बनाएका थिए । अनिल र भीमले दोस्रो विकेटका लागि १८९ रनको साझेदारी गरेका थिए । यो साझेदारी नेपालको एकदिवसीय इतिहासमा कुनै पनि विकेटका लागि अहिलेसम्मको ठुलो साझेदारी हो । यस अघि कुशल भुर्तेल र आसिफ सेखले जिम्बाबेविरुद्ध पहिलो विकेटका लागि १७१ रनको साझेदारी गरेका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको क्यानडाले ५० ओभरमा ८ विकेट गुमाएर २३२ रन बनाएको थियो । योसँगै नेपालले सिरिज ३-० ले जितेको छ ।