|  

जनयुद्ध दिवस मनाउने हक कसैले खोस्न सक्दैनः प्रचण्ड

२९ माघ, काठमाडौं ।  प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फागुन १ गते देशैभर ‘जनयुद्ध दिवस’ मनाइने बताएका छन् ।

पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले ‘जनयुद्ध दिवस’ मनाउने हक कसैले खोस्न नसक्ने बताए । ‘जनयुद्ध दिवस मनाउने हाम्रो नैसर्गिक हक कसैले खोस्न सक्दैन, भोलि (फागुन १ गते) देशैभर जनयुद्ध दिवस मनाइन्छ,’ प्रधानमन्त्री दाहालले भने ।सर्वोच्च अदालतले गत पुस १३ गते जनयुद्ध दिवसमा बिदा नदिन आदेश दिएको थियो ।

शान्ति प्रक्रियाका कार्यभार पूरा नहुँदै गरिएको सार्वजनिक बिदाले पीडितलाई थप पीडाबोध भएको सर्वोच्चको व्याख्या थियो ।
गत वर्ष फागुन १ मा संघीय सरकारले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिएको थियो । उक्त बिदा यसपालि कायम नरहेको गृह मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।