|  

इण्डियन किक बक्सिङमा नेपाललाई १ स्वर्ण र ३ कांस्य

२९ माघ, काठमाडौं ।  भारतको दिल्लीमा सम्पन्न तेस्रो वाको इन्डियन ओपन किक बक्सिङ प्रतियोगितामा नेपालले १ स्वर्ण र ३ कांस्यसहित ४ पदक जितेको छ। फेब्रुअरी ६ देखि ११ तारिखसम्म चलेको प्रतियोगितामा पुरुष ६० केजीमा पुकार श्रेष्ठले स्वर्ण पदक जितेका हुन्। 

जुनियर ५७ केजीमा सुमितशरण तामाङ, सिनियर ५७ केजीमा रोशन अछामी र ८६ केजीमा साजन थिङ तामाङले कांस्य पदक दिलाए। 

४ जना खेलाडिले नै पदक जित्न सक्नु देशका लागि गर्वको कुराको भएको प्रशिक्षक दिवान्स श्रेष्ठले बताए। प्रशिक्षक श्रेष्ठ थाइल्यान्डको बैङ्क्कमा १ वर्ष केवान कोच ट्रेनिङबाट फर्केलगत्तै राष्ट्रिय टोली समालेका हुन्।

व्यवस्थापक सिमोन उप्रेती र निर्णायक विन्दा नेपाली  सहित किक बक्सिङ् टोली भोलि नेपाल फर्किंदै छ। यसअघि ७ सदस्यीय नेपाली टोली गत मंगलबार भारतको नयाँ दिल्ली  गएको थियो।