|  

जबरजस्तीकरणी मुद्दाका फरार प्रतिवादी पक्राउ

२९ माघ, काठमाडौं । इलाका प्रहरी कार्यालय कोहलपुरले शारीरिक अपाङ्गता भएकी महिलालाई जबरजस्तीकरणी गरी फरार भएका एक प्रतिवादीलाई पक्राउ गरेको छ।

शारीरिक अपाङ्गता भएकी कोहलपुरका ३० वर्षीया महिलालाई जबरजस्तीकरणी गरी फरार रहेका गोदावरी नगरपालिका-५, नहरटोल कैलालीका ३९ वर्षीय गोविन्दप्रसाद बोहरालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए। उनका अनुसार बोहराले ती महिलालाई उपचार गरिदिने निहुँमा पटक-पटक जबर्जस्तीकरणी गरेका थिए।

बोहराले ती महिलाको अनुहारमा भएको दागको समस्या हटाउने औषधी आफूसँग भएको र औषधी उपचार गराई पूर्णरुपमा निको पारिदिने तथा बिहेसमेत गर्ने प्रलोभन देखाएका थिए। 

कोहलपुर नगरपालिका-२ मनकामना चोक नजिक कोठा लिई पटक-पटक जबरजस्तीकरणी गरेको र उक्त कुरा अरू कसैलाई भनेमा झारफुक गरेर भस्म गराइदिने भनी डरत्रास देखाएको उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए।

काठमाडौंको नागार्जुन नगरपालिका-८ भीमढुङ्गाबाट पक्राउ गरी कोलपुर ल्याइएको कोहलपुर प्रहरीले जनाएको छ। पक्राउ परेका गोविन्द कोइरालालाई बाँके जिल्ला अदालतबाट सात दिनको हिरासतमा राख्ने आदेश अनुमति लिई थप अनुसन्धान गरिरहेको प्रनाउ तिवारीले जानकारी दिए।