|  

दुबईमा ओखलढुंगाका भुवन श्रेष्ठलाई मृत्युदण्डको सजाय

८ फागुन, काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)मा एक नेपाली युवालाई मृत्युदण्डको सजाय सुनाइएको छ ।

ओखलढु‌गा चिशंखुगढी गाउँपालिका ३ दियालेका भुवन श्रेष्ठलाई दुबई अदालतले मृत्युदण्डको फैसला सुनाएको हो । केही दिनअघि मृत्युदण्डको फैसला सुनाइएको बताइएको छ । आफ्नै कम्पनीमा कार्यरत नवलपुरका बाबुराम आलेमगरको मृत्यु भएपछि उनलाई दुबई प्रहरीले पक्राउ गरेको थियो । गम्भीर घाइते आले मगरको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो । सोही घटनामा स‌लग्न रहेको आरोपमा प्रहरीले भुवनलाई नियन्त्रणमा लिएको थियो । श्रेष्ठ २०७४ सालमा रोजगारीका लागि दुबई पुगेका थिए ।

उनी बसेको कोठामा झगडा हुँदा छुट्ट्याउने क्रममा आले मगरलाई गम्भीर चोट लागेको थियो । त्यसपछि उनैले अस्पताल लैजाँदै थिए । तर, बाटैमा साथीको मृत्यु भएपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।  ‘त्यहाँ साथी साथीबीच झगडा भएको रहेछ, त्यो देखेपछि मेरो भाइ छुट्याउन गएका रहेछन्, तर आले मगरको मृत्यु भएपछि फिंगरिङ गर्दा मेरो भाइलाई फसाइयो,’ उनका दाइ दिनेशकुमार श्रेष्ठले भने । भाइ जेल परेको ५ वर्ष भइसकेको र अहिले मृत्युदण्ड कुरिरहेको दाइ दिनेशकुमारले बताए ।

‘अहिले पीडित परिवारले ५० लाख रुपैयाँ ब्लडमनीबापत मागिरहेको छ, सो पैसा दिनसके भाइको ज्यान जोगिन्छ भनिएको छ, नदिए मृत्युदण्ड दिन लगाउने भनेको छ,’ उनले भने । आफूले कन्सुलर विभाग पुगेर भाइ दोषी नरहेको भन्दै फैसलाको पुनरावेदनका लागि पहल गरिदिनसमेत विभागलाई अनुरोध गर्दै निवेदन दिएको दिनेशकुमारले बताए ।