|  

यूएईमा मृत्युदण्डको सजाय पाएका श्रेष्ठको जीवन रक्षा गर्न सांसद खतिवडाको माग

१० फागुन, काठमाडौं ।   नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले यूएईको जेलमा रहेका ओखलढुंगाका भुवन श्रेष्ठ र धादिङका पहलमान थापाको जीवन रक्षाका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा शून्य समयमा बोल्दै राज्य व्यवस्था समितिका सभापतिसमेत रहेका सांसद खतिवडाले ५ वर्षदेखि दुबईको जेलमा रहेका उनीहरुको जीवन रक्षाका लागि सरकारले कुनै पहल नगरेकोप्रति चिन्ता व्यक्त गरे । झडपमा गम्भीर घाइते नवलपरासीका बाबुराम आलेलाई अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएपछि यूएई प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

सो अभियोगमा मृत्युदण्डको सजाय पाएका उनीहरुलाई ५० लाखका दरले ब्लडमनी माग गरिएको छ । अन्यथा यही महिना मृत्युदण्ड दिइने सांसद खतिवडाको भनाइ छ ।प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई त्यसका लागि पहल गर्न ध्यानाकर्षण गराउँदै सांसद खतिवडाले श्रेष्ठ र थापाको जीवन रक्षाका लागि गम्भीर बन्न आग्रह गरे।