|  

वडा र पालिकाको‌ नेतृत्वमा ३३ प्रतिशत महिला सुनिश्चित हुनुपर्छ- कांग्रेस नेतृ अधिकारी

१० फागुन, काठमाडाैं । नेपाली कांग्रेसकी नेतृ शोभा अधिकारीले हरेक ठाउँमा महिलाकाे ३३ प्रतिशत अधिकार हुनुपर्ने बताएकी छन् । 

गोरखा क्षेत्र नम्बर २ बाट कांग्रेस महासमिति सदस्यसमेत रहेकी नेतृ अधिकारीले बिहीबार कांग्रेस महासमिति बैठकमा बाेल्दै यस्ताे धारणा राखेकी हुन् । 

उनले पार्टीले टिकट बाँड्ने संसदीय बोर्ड र पार्टीको पदाधिकारीमा कम्तीमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित हुनुपर्ने माग समेत राखेकी छन् ।

यस्ताे छ उनकाे भनाइ जस्ताकाे त्यस्तै:

आदरणीय प्रदेश सभापतिज्यूहरू, नेतागणहरू, जिल्ला सभापतिज्यूहरू र महासमिति सदस्य साथीहरूमा जय नेपाल।

मेरो राजनीतिको थलो र कर्मथलो बागमती प्रदेशको PK क्याम्पस र गण्डकीको गोरखा हो। मलाई राजनीतिमा साथ सहयोग र समर्थन गर्ने दुवै प्रदेशका अग्रज,साथीहरूलाई हार्दिक नमन गर्दछु। महासमिति बैठकमा मैले सुझावका रुपमा यी बुँदाहरु प्रस्तुत गर्ने अनुमति चाहन्छु।

१.आर्थिक विकासको लागि बागमती र गण्डकी प्रदेश कृषि, पर्यटन, जडिबुटी, पशुपालन, उद्योग, कलकारखाना, व्यापार व्यवसाय, हाइड्रोपावर आदि सम्भावना भएको क्षेत्र हो। त्यसैले यस क्षेत्रका समग्र विकासका लागि आन्तरिक र बाह्य लगानीको वातावरण सिर्जना गर्ने पहल कदमी नेपाली कांग्रेसले गरोस्। कृषकले उत्पादन गरेका दुग्ध,उखु,फलफुल, तरकारी लगायतका कृषि सामग्रीलाई सरकार आफैले खरिद गरेर बजार व्यवस्थापन गर्ने पहल गरोस्।

२. नेपाली कांग्रेसका सदस्यलाई स्वदेशमा उत्पादित वस्तुको उपभोग गर्न प्रोत्साहन गर्ने नीति बनोस्। उद्योगी र व्यवसायीको वस्तुको बजार नेपाली कांग्रेसका सदस्यहरू हुन् र स्वदेशमा रोजगारी सिर्जना गर्ने कांग्रेस हो भन्ने अनुभूति गराउने नीति बनोस्।

३. पार्टीले टिकट बाँड्ने संसदीय बोर्ड र पार्टीको पदाधिकारीमा कम्तीमा ३३% महिलाको सहभागिता सुनिश्चित होस्।

४. अन्य पार्टीसँग सहकार्य गरी संविधान तथा नीति नियम परिमार्जन गरेर भएपनि ३३% निर्वाचन क्षेत्र महिलालाई मात्र छुट्याउने र सबै पार्टीको महिला-महिला बीच चुनावमा उम्मेदवार उठाई प्रतिस्पर्धा गराउने।

५. स्थानीय तह वडा,पालिका, नगरपालिका, महानगरपालिकाको‌ प्रमुख पदमा मेयर र अध्यक्षमा कम्तीमा ३३% महिलालाई टिकट दिने।

६. केन्द्रीय समितिमा रहेकाहरू महाधिवेशन प्रतिनिधि हुन वडा तहबाट नै अनिवार्य आउनुपर्ने व्यवस्था गर्नुपर्ने।

७. संविधान संशोधन गरी समानुपातिक सङ्ख्या प्रदेश र संघीय संसदको सङ्ख्या कम गरी राज्यको आर्थिक भार कम गर्ने।

८. भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न कानुनी राज्यको अनुभूति गराउन पहल गर्ने र नीति बनाउने।

९. पार्टीको जुनसुकै पद र जनप्रतिनिधिमा उठ्न क्रियाशील सदस्यताको अवधि र योग्यताको मापदण्ड निर्धारण गर्नुपर्ने।

१०. पार्टीमा एक व्यक्ति एक पदको नीति बनाउने

११. नेपाली विद्यार्थी र युवाहरू विदेश पलायन हुनबाट रोक्न उनीहरूले विदेशमा लैजाने पैसाले नेपालमै लगानी गरी प्राप्त आम्दानीले केही गर्न सकिन्छ भन्ने लगानी मैत्री वातावरणको सिर्जना गर्न पहल कदमी गर्ने।

१२. विदेशिएका युवालाई समस्याको रुपमा होइन सम्पत्तिको रुपमा लिने र उनीहरुले आर्जन गरेको सीप क्षमता योग्यता र धनलाई नेपालमा भित्र्याउन र उत्पादनशील क्षेत्रमा लगानी गर्न वातावरण बनाउन बलियो नीति निर्माण गर्ने।

१३. भौतिक पूर्वाधारको विकाससँगै समाजिक र मानवीय विकास जस्तै निःशुल्क रूपमा स्वास्थ्य शिक्षाको ग्यारेन्टी र रोजगारीको सिर्जना गरी गाउँ बस्तीबाट बसाई सर्ने जमातलाई रोक्न पहल गर्ने नीति बनाउने।

१४. New Media र सञ्चार क्षेत्रमा भएको दुरुपयोगलाई नियन्त्रण गर्न सञ्चार नीतिलाई संशोधन गर्नुपर्ने १५ Qualified ,capable ,vision Reason अनResult दिन सक्ने acceptable face, good character भएकाहरूलाई टिकट दिने हो भने गठबन्धन गर्नु आवश्यक छैन। प्रिइलेक्सन गठबन्धन पार्टीको लागि हानिकारक हुन्छ। 

१६. सहकारी, मिटर ब्याजी, लघुवित्त लगायत पीडितको आवाजको सम्बोधन गर्न एउटा पार्टीले समिति गठन गरी सरकारसँग पहल गरिदिने।

१७. पार्टीका क्रियाशील सदस्यहरू र पार्टीका पदमा बसेकाहरूको अनिवार्य सम्पत्ति विवरण पार्टीलाई बुझाउने नीति निर्माण गर्नुपर्ने।

१८. राजनीतिक हिंसा न्यूनीकरण गर्न विज्ञ सदस्यहरू सहितको एउटा छुट्टै समिति निर्माण गरी निरुत्साहित गर्न पहल गर्ने।

१९. देशैभर भूगोल अनुसार विकास र संरचना बनाई प्राकृतिक प्रकोपको क्षति न्यूनीकरण गर्न पहल गर्ने।

२०. नेपालको जलवायु विश्वको सम्पत्ति हो जलवायु परिवर्तनलाई रोक्न नेपालले नेतृत्वदायी भूमिका निर्वाह गर्ने।
शोभा अधिकारी महासमिति सदस्य गोरखा क्षेत्र नम्बर २