|  

सांसदलाई भेट्न पनि मन्त्रीहरूले आनाकानी गर्छनः सोविता गौतम

१३ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले वर्तमान सरकारका मन्त्रीहरूले सांसदहरूलाई समेत भेट्न आनाकानी गर्ने गरेको आरोप लगाएकी छन् ।

आज प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकार असफल भएकाले अब मन्त्रीहरूले राजीनामा दिनुपर्ने बताएकी हुन् । आफ्नो निर्वाचन क्षेत्रमा बिग्रिएको सडक निर्माणका लागि पटक–पटक मन्त्रीलाई आग्रह गर्न जाँदा पनि भेट्न नपाएकोमा उनको असन्तुष्टि थियो । उनले प्रश्न गरेकी छन, ‘सांसदलाई भेट्न पनि मन्त्रीहरूले आनाकानी गर्छन । मन्त्रीहरूले भेट्छन चाहीँ कसलाई ?।’ 

प्रदेश सरकारले विकास निर्माणको काममा सहजीकरण गर्नुपर्ने भए पनि प्रदेश सरकारको त्यस्तो भुमिका हुन नसकेको उनको भनाई थियो । यो काम यसले र त्यसले गर्ने भनेर सबै तहको सरकार पन्छिने गरेको भन्दै उनले प्रदेश संरचनाको कारण झनै अप्ठ्यारो परेको बताइन ।