|  

शिशु चोरिएको घटनामा पक्राउ परेकी महिलाकी दिदी र पति हिरासतमुक्त

१३ फागुन, काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शिशु चोरिएको घटनामा पक्राउ परेकी महिला मनकुमारी सिंहका पति र दिदी हिरासतमुक्त भएका छन् ।

शिशु चोरिएको घटनामा उनीहरुको संलग्नता नदेखिएकाले दुई जनालाई छाडिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । पक्राउ परेकी महिलाको अहिले केएमसी अस्पताल, सिनामंगलमा उपचार भइरहेको छ । शुक्रबार मध्याह्न १२ बजेतिर काभ्रेकी एक जना महिलाको २६ दिनको शिशु हराएको थियो । लगत्तै जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयले क्लोज सर्किट (सीसी) क्यामरा फुटेज संकलन गरेर अनुसन्धान थालेको थियो । त्यस क्रममा एक जना मास्क लगाएकी महिलाले शिशु लिएर हिँडेको पाइएको थियो । शुक्रबार राति १२ बजे प्रहरीले सिंहलाई काँडाघारीमा फेला पारेको थियो भने शिशुको पनि उद्दार गरेको थियो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतका अनुसार, केही दिनअघि मात्रै उनको गर्भ खेर गएको थियो । परिवारले प्रहरीलाई बताएअनुसार, उनी ७ महिनाको गर्भवती थिइन । तर, बच्चा नरहेपछि उनी विक्षिप्त थिइन । यसबारे उनले श्रीमानसँग पनि झुटो बोलेको पाइएको छ । बच्चा जन्मिएको भनेर खबर गरेपछि नेपाली सेनाको ड्यूटीमा रहेका उनका श्रीमान पनि घरमा आएका रहेछन ।
अनुसन्धानपछि उनको र मनकुमारीको दिदीको घटनामा संलग्नता नदेखिएपछि उनीहरुलाई छाडिएको प्रहरीले जनाएको छ ।