|  

दर्शकलाई निराश नबनाएका निर्देशक प्रदीप भट्टराई

१३ फागुन, काठमाडौं । मह सञ्चारमा करिब डेढ दशक काम गरेपछि फिल्म ‘जात्रा’मार्फत् निर्देशनमा डेब्यु गरेका प्रदीप भट्टराईले ‘शत्रु गते’, ‘जात्रै जात्रा’ र ‘महापुरुष’को निर्देशन गरिसकेका छन् । लगातार हरेक फिल्ममा दर्शक र समीक्षकको विश्वास जित्न सफल निर्देशक भट्टराई स्टारडम भएका निर्देशकमा पर्छन् । अर्थात् निर्देशककै नामले नेपालमा कमै दर्शक हलसम्म पुग्ने गरेका छन् । ती मध्येका एक हुन् निर्देशक भट्टराई ।

उनले आफ्ना काममार्फत दर्शकको विश्वास घट्न दिएका छैनन्, बढाएका छन् । नेपालमा सिक्वेल फिल्मले प्रायः दर्शक तथा समीक्षकबाट तारिफ नपाइरहेको अवस्थामा निर्देशक भट्टराईकै लेखन रहेको ‘जात्रै जात्रा’ले सिक्वेल फिल्म पनि राम्रो बन्छ भन्ने प्रमाणित ग¥यो । पहिलो फिल्ममार्फत् विश्वास बनाउन सफल निर्देशक भट्टराईल दोस्रो फिल्ममार्फत आफुलाई बक्सअफिसमा प्रमाणित गरे । तेस्रो फिल्ममार्फत ह्याट्रिक गरे । चौथो फिल्म ‘महापुरुष’ मार्फत उनले गुरू अभिनेता हरिवंश आचार्यलाई राष्ट्रिय चलचित्र पुरस्कारका हकदार बनाउन सफल भए ।

उनी अहिले जात्राको तेस्रो शृङ्खला ‘महाजात्रा’ लिएर दर्शकसमक्ष आउदैछन् । यसको प्रचारप्रसारको सुरुआत गर्दै उनले विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, राजाराम पौडेलसहितको टिजर सार्वजनिक गरिसकेका छन् । 

‘हामीले फिल्म निर्माणको सुरुआत गर्दा नै विदेश राइट्स विक्री हुनु, नेपालमा वितरकको प्रतिक्रियाले गर्दा यो शृङ्खलाको प्रतीक्षालाई बुझिसकेका थियौँ । महाजात्रा भएकाले कथा, प्रस्तुतीकरणमा झनै मेहनत गरेका छौं । हामी दर्शकको वर्ड अफ माउथ अघिल्ला शृङ्खला भन्दा यसपटक झनै बलियो होस् भनेर काम गरिरहेका छौँ’,निर्देशक भट्टराईले भने ।

उनले आफ्नो सफलतालाई टिमको मेहनतको रुपमा वर्णन गर्छन् । किनकि स्क्रिप्ट लेख्नकै क्रममा हुने छलफल र मेहनतले दर्शकलाई हलबाट खुशी बनाएर निकाल्न सकिएको उनको बुझाइ छ । ‘मैले फिल्म दर्शकका लागि तयार गर्ने गरेको छु । बजारमा यो चलिरहेको छ वा यस्तो डिमाण्ड छ भनेर काम गरिएको छैन । हाम्रो शैलीमै काम गर्ने गरेका छौं, दर्शक खुशी हुनुभएकै कारण एकपछि अर्को फिल्मको बक्सअफिसमा व्यापार बढिरहेको छ’, निर्देशक भट्टराईले भने ।

जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा  प्राप्त हुने पैसा व्यवस्थापन गर्ने अवसरले गर्दा आइपर्ने समस्यालाई रोचक रुपले प्रस्तुत गरिने फिल्ममा हाँसो र रोदनको मिश्रण छ । अर्गानिक र यथार्थलाई प्रस्तुत गरिएकै कारण यो शृङखला दर्शकको प्रिय बनेको छ । यसले नेपाली फिल्मले अन्तर्राष्ट्रिय बजारमार्फत पाउने सर्वाधिक रकम पाईसकेको छ । 

कथा लेखनकै क्रममा ‘महाजात्रा’ को बनेको ब्राण्डको कारण भारत बाहेकको विदेश प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टका लागि छत्र थापाले खरिद गरिसकेका छन् । उनले नेपालसँगै विदेशमा पनि चैत ९ गते प्रदर्शन हुने बताए ।