१३ फागुन, काठमाडौं । ई-कमर्स प्लेटफर्म ‘मोलतोल डटकम’ले नेपालमा औपचारिक रुपमा सेवा दिन थालेको छ ।
मोलतोलले साना भन्दा साना व्यावसायीलाई समेटेर इकमर्स मार्केट सुरु गर्न लागेको हो ।
अमेरिकामा रहेका गौरव मानन्धर, निरज मानन्धर र नेपालका युवा उद्यमी भुलन लाखेले सन् २०१६ मै भरोसा नेटवर्क अन्तर्गत मोलतोलको स्थापना गरेका थिए ।
कम्पनीले आउँदो मार्च १ तारिखबाट औपचारिक रुपमा व्यवसायिक सेवा दिन लागेको सञ्चालक लाखेले जानकारी दिए ।
‘विजनेस टु विजनेस, विजनेस टु कस्टमर अभियानमार्फत गुणस्तरीय सेवा दिने हाम्रो लक्ष्य हो । सबै प्रक्रिया पुगेको खण्डमा भेन्डरलाई २४ घन्टाभित्र भुक्तानी पनि दिनसक्छौं,’ सञ्चालक लाखेले भने,‘ईकमर्स मार्केटमा हामी फरक बन्ने प्रयासमा छौं । साना–ठूला सबै व्यवसायीहरुका निम्ती सहजीकरण गरेर गुणस्तरीय सेवा दिनका लागि आएका छौं ।’
अनलाइन मार्केटको विश्वव्यापी प्रभावलाई बुझेर नै जापानबाट फर्किएर नेपाल आएर मोलतोलमा आबद्ध भएको सुनाउँदै मोलतोलका कार्यकारी प्रमुख प्रितेश शाक्यले भने,‘हामीले कसैलाई प्रतिस्पर्धी ठानेका छैनौं । आफैंसँग प्रतिस्पर्धा गरेर नेपालमा विशेष तरिकाले बजार विस्तार गर्छाैं ।’
नेपालका मौलिक एवम रैथाने उत्पादनको बजारीकरण, साना–ठूला व्यापारीहरुका लागि सहजीकरण र छिटो छरितो सबैखाले वस्तुहरुको शुलभ मूल्यमा अनलाइन सेवा दिनेगरी ईकमर्स प्लेटफर्म स्थापना गरी काठमाडौं उपत्यकाबाट सेवा सुरु गरिएको पनि शाक्यले जानकारी दिए ।
मोलतोलले दैनिक उपभोग्य वस्तुलगायत सबैखाले वस्तुको किनबेच गनृ सकिने गरी सेवा दिने जनाएको छ।