|  

आज विश्व क्षयरोग दिवस,  नेपालमा पनि विभिन्न कार्यकक्र गरी मनाइँदै

११ चैत, काठमाडौं । आज विश्व क्षयरोग दिवस विभिन्न सचेतनामूलक कार्यक्रम गरी नेपालमा पनि मनाइँदैछ ।

यो दिवस हरेक वर्ष मार्च २४ का दिन विश्वभर मनाउने गरिन्छ । यस वर्ष  ‘हो हामी क्षयरोग अन्त्य गर्न सक्छौँ’ भन्ने नाराका साथ यो दिवस मनाइँदै छ । नेपालमा ४५ प्रतिशत क्षयरोगका बिरामी उपचारको पहुँच बाहिर रहेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जनाएको छ ।

क्षयरोगको उपचार र औषधि निस्शुल्क रहेको भए पनि क्षयरोग लागेकाप्रति समाजको नकरात्मक दृष्टिकोण बाँकी रहनु र लामो समय नियमित औषधि प्रयोग गर्नुपर्ने भएकाले कतिपय बिरामी उपचारको पहुँचमा नपुग्ने गरेका हुन् ।केन्द्रको तथ्याङ्क अनुसार गएको वर्ष मात्रै नेपालमा ३७ हजार भन्दा धेरै नयाँ बिरामी थपिएका छन् ।

पहिचान भएका बिरामीमध्ये ७२ प्रतिशत फोक्सो र २८ प्रतिशत विभिन्न अङ्गका क्षयरोगी छन् । नेपाल सरकारले सन् २०३५ सम्ममा क्षयरोग नियन्त्रण र सन् २०५० सम्म क्षयरोग उन्मूलन गर्ने लक्ष्य लिएको छ ।