|  

आज ६३ औँ विश्व रंगमञ्च दिवसः रंगकर्मीहरुले विभिन्न कार्यक्रम गरी मनाउँदै

१४ चैत, काठमाडौं । आज ६३ औँ विश्व रंगमञ्च दिवस । नेपालमा पनि रंगकर्मीहरुले विभिन्न कार्यक्रम गरी मनाउँदैछन् ।

समाजमा व्याप्त विकृतिलाई हटाउन नाटकमार्फत जनचेतना तथा उत्प्रेरणा जगाउने उद्देश्यले विश्वभरका रंगकर्मीहरु यस दिवस मनाउने गर्दछन् । सन १९६१ मा अन्तर्राष्ट्रिय रंगमञ्च इन्ष्टिच्यूटले दिवसको अवधारणा ल्याएपछि अंग्रेजी पात्रो अनुसार हरेक वर्षको मार्च २७ तारिखमा विश्व रंगमञ्च दिवस मनाइदै आइएको छ । युनेस्कोले मार्च २७ लाई रंगमञ्च दिवस मनाउने घोषणा सन १९४८ मै गरेको थियो । तर सन १९६१ बाट यस दिवसले साकारोक्ति पाएको हो । सन १९६२ मा पहिलो विश्व रङ्गमञ्च दिवसको सन्देश भने फ्रान्सका प्रसिद्ध नाटककार जेन ककटेउले लेखेका थिए ।

रंगमञ्च दिवसमा गाउँ देखि शहर अनि विदेश सम्म विभिन्न कार्यक्रम आयोजना गरेर समाजका विभिन्न अवयवहरुलाई मञ्चन गर्दै यस दिवस मनाउने गरिन्छ । मुख्यतया विश्वभरका कलालाई प्रवर्धन गर्न, कलाको महत्व विश्वमा थप बढाउन र नृत्य अनि अभिनय लगायतका कलाका विधालाई थप चौडा भएर विश्व भरि महत्व दिलाउन यस दिवसको आयोजना गरिन्छ । यसो गर्नाले रंगमञ्च अनि कला र कलाकर्मीको राष्ट्रिय र विश्व स्तरमा महत्व अनि कला प्रतिको मोह बढ्ने हुन्छ ।

पछिल्लो समय नेपालमा रंगमञ्चप्रतिको आकर्षण बढ्दै गएको पाइएको छ । नेपालमा युवा पुस्ताले रंग क्षेत्र धान्दै आएको नाटककारहरुको विश्लेषण पनि छ । केही वर्ष यता यो क्षेत्रमा महिला रंगकर्मीको उपस्थिति पनि बढ्दै गएको छ । रंगकर्मीहरुका अनुसार पहिले काठमाडौंमा मात्र सीमित रंगमञ्च अहिले बाहिरी जिल्लामा पनि विस्तार भइरहेको छ । नेपालको सामाजिक अनि राजनैतिक परिवर्तनमा नेपाली रंगमञ्चको ठुलो भूमिका छ । सडक नाटक देखि सीनेमाका पर्दा सम्म, प्रदर्शनी केन्द्र या राष्ट्रिय सभा अनि विभिन्न क्षेत्रीय हलहरुमा सम्म नेपाली रंगमञ्चका उत्पादनहरु देख्न पाइन्छन । त्यसैले सम्पूर्ण कलाहरु मनोरञ्जनका लागि मात्रै होइन, कला त जीवनको लागि पनि हो, समाजका लागि पनि हो । रंगमञ्च सधैँ जीवन र समाजका लागि हुनुपर्छ । नेपाली रंगमञ्चले समाजका विंसङ्गतीसँग लड्ने प्रेरणा मिलोस । साथै नेपाली जीवनमा थप रंग र जागरण फैलाउन सकोस, नेपालीपनाको विश्व भरि नै पहिचान स्थापीत गर्न नेपाली रंगमञ्च कायम होस । विश्व रंगमञ्च दिवसको हाम्रो तर्फबाट पनि हार्दिक शुभकामना ।