|  

क्यानडाका इन्जिनियरको टोलीले बनाए विश्वकै फास्ट क्यामेरा

१४ चैत, काठमाडौं । क्यानडाका इन्जिनियरको टोलीले प्रतिसेकेन्ड १५६३ खर्ब फ्रेम खिच्ने क्यामेरा विकास गरेका छन् ।

आईएनआरएस इनर्जी म्याटरियक्स टेलिकम्युनिकेसन रिसर्च सेन्टरका इन्जिनियरले नेचर कम्युनिकेसनमा जर्नल प्रकाशित गर्दै यस विषयमा जानकारी दिएका हुन । इन्जिनियरको टोलीले विकास गरेको यो क्यामेरा नै विश्वको सबैभन्दा तीव्र गतिमा (फास्टेस्ट) क्यामेरा हो । सामान्यतः फोनको स्लो मोसन क्यामेराले प्रतिसेकेन्ड केही सय फ्रेममा काम गरिरहेका हुन्छन । व्यावसायिक सिनेम्याटिक क्यामेराले प्रति सेकेन्ड केही हजार फ्रेममा काम गरिरहेका हुन्छन ।

प्रत्येक सेकेन्डमा जति बढी फ्रेम भयो भिडिओ त्यति नै स्तरीय देखिन्छ । यसरी प्रति सेकेन्ड हजारौं फ्रेममा खिचिएका भिडिओको सन्दर्भ चलिरहँदा इन्जिनियरले एक सेकेन्डमा खर्बौं फ्रेम खिच्न सक्ने क्यामेरा तयार पारेका छन । यो क्यामेराले फेम्टोसेकेन्ड ९१०६–१५०को दायरामा हुने घटनाक्रम खिच्न सक्ने दाबी गरिएको छ । सन्दर्भका लागि फेम्टोसेकेन्ड भनेको तीन करोड २० लाख वर्षमा जति सेकेन्ड हुन्छन्, त्यति नै सेकेन्डभित्रको सेकेन्ड हो ।

न्यु एट्लसका अनुसार अनुसन्धानकर्ताले सन २०१४ मा प्रति सेकेन्ड १०० अर्ब फ्रेम खिच्ने क्यामेरा विकास गरेका थिए । जसलाई कम्प्रेस्ड अल्ट्राफास्ट फोटोग्राफी (सीयूपी) पनि भनिन्छ । त्यसपछि उक्त क्यामेराभन्दा पनि स्तरीय र बढी फ्रेम खिच्ने क्यामेरा विकास गर्न अनुसन्धानकर्ताले काम अगाडि बढाए । जसलाई टी–कप  अर्थात खर्बौं फ्रेम खिच्ने प्रविधि भनिन्छ । पहिलो चरणमा तयार पारिएको टी(कप क्यामेराले प्रति सेकेन्ड १०० खर्ब फ्रेम खिच्न सक्थ्यो ।

सन् २०२० मा आउँदा अनुसन्धानकर्ताले प्रति सेकेन्ड ७०० खर्ब फ्रेम खिच्ने क्यामेरा तयार पारे । यो भर्सनलाई कम्प्रेस्ड अल्ट्राफास्ट स्पेक्ट्रल फोटोग्राफी स्कार्फ नाम दिइएको छ । सीयूएसपीको क्षमताभन्दा दोब्बर बढी फ्रेम खिच्ने क्यामेरा विकास गर्न लागिपरेका अनुसन्धानकर्ताले प्रति सेकेन्ड १५६३ खर्ब फ्रेम खिच्ने क्यामेरा विकास गरेका हुन् । यो नयाँ क्यामेरा प्रणालीलाई स्वेप्ट कोडेड अपार्चर रियल टाइम फेम्टोफोटोग्राफी स्कार्फ नाम दिइएको छ ।

यसले तीव्र गतिमा चल्ने वस्तु वा तीव्र गतिमा हुने घटनाक्रमको फोटो खिच्न सक्छ । त्यस्तै जीवित कोषिका वा कुनै पदार्थ हुँदा चलिरहेको शक वेभ्स (तरङ्ग) खिच्न सक्छ । स्कार्फले फोटो खिच्नुपर्ने घटना वा वस्तुमा विशेष किसिमको लेजर लाइट प्रवेश गराउँछ । उदाहरणका लागि मान्नुस् बन्दुकबाट छुटेको गोली हावामा उडिरहेको छ । त्यसको फोटो खिच्न क्यामेराले सबैभन्दा पहिले लेजर लाइट गोलीमा पार्छ ।

लेजर लाइटबाट निस्किने प्रकाशमा हुने विभिन्न कलरको गति छुट्‍टाछुट्‍टै हुन्छ । जसले गर्दा तीव्र गतिमा भएको अवस्थालाई पनि क्यामेराले डिटेलमा खिच्न सक्छ ।  लेजरबाट निस्किएको लाइट त्यो वस्तुमा परेपछि ठोक्किएर पुनः क्यामेरामा आउँछ । त्यसपछि क्यामेराको सेन्टरमा पुगेपछि उक्त लाइट डेटामा परिणत हुन्छ । उक्त डेटालाई कम्प्युटरमार्फत प्रोसेस गरी अन्तिम तस्वीरका रूपमा तयार पारिन्छ । यसरी नाङ्गो आँखाले नदेखिने घटनाक्रम वा वस्तुको तस्वीर खिच्न यो क्यामेरा प्रविधिको प्रयोग हुने बताइएको छ । 

यो क्यामेरा भौतिक, जीव, रसायन विज्ञान र इन्जिनियरिङका क्षेत्रमा उपयोगी हुने अनुसन्धानकर्ताको भनाइ छ ।