|  

बिरामीलाई उपचार नगरी फर्काउने प्रविधि बन्द गर्न स्वास्थ्य मन्त्रीको निर्देशन

१५ चैत, काठमाडौं ।  उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले उपचारका लागि आएका बिरामीलाई कुनैपनि कारणले फर्काउन बन्द गर्न निर्देशन दिएका छन् ।

हिजो (बुधबार) कान्तिबाल अस्पतालको आकस्मिक अनुगमनमा पुगेका यादवले यस्तो निर्देशन दिएका हुन् । अनुगमनका क्रममा मन्त्री यादवलाई अस्पालतका निर्देशक डा. पंकज रायले विभिन्न विभागबारेमा ब्रिफिङ गरेका थिए । उनले केही दिन अघि आईसीयू बेडको अभाव देखाउँदै उपचारका लागि आएको बिरामी फर्काइएको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षकण भएको बताएका थिए ।

अस्पताल अनुगमनको क्रममा बिग्रिएको अवस्थामा रहेका सीटी स्क्यान, एमआरआई, एक्सरे लगायतका मेसिनहरूको पनि तत्काल मर्मत गरेर सेवा सुचारु गर्न पनि मन्त्री यादवले निर्देशन दिए । यस्तै उनले अस्पताल भित्र सञ्चालित फार्मेसीमा नै सबै औषधी उपलब्ध हुने व्यवस्था मिलाउन पनि निर्देशक डा.रायलाई निर्देशन दिएका थिए ।