|  

बेलायती राजदूत फेन र अर्थमन्त्री पुनबीच आज भेटवार्ता

१५ चैत, काठमाडौं । नेपालका लागि बेलायती राजदूत रब फेन र अर्थमन्त्री वर्षमान पुनबीच आज भेटवार्ता भएको छ ।

भेटमा राजदुत फेनलाई अर्थमन्त्रीलाई आगामी वैशाखमा काठमाडौंमा हुने लगानी सम्मेलनमा बेलायतबाट उच्चस्तरीय लगानीकर्ताको टोली आउने जानकारी दिएका छन् । उनले नेपालले वैदेशिक लगानीमैत्री वातावरण बनाउँदै गएको भन्दै प्रशंसा समेत गरेका छन् । साथै दोहोरो कर प्रणाली सम्बन्धी नीतिबारे अन्तर्राष्ट्रिय समुदायलाई प्रष्ट पार्न पनि उनले अर्थमन्त्री पुनसँग आग्रह गरेका छन् ।

राजदूत फेनले लगानी सम्मेलन सफल पार्न आफूले काठमाडौंस्थित अन्य मुलुकका नियोग प्रमुखहरूसँग पनि छलफल र समन्वय गरिरहेको जानकारी समेत दिए । उनले नेपालको शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासबाट वञ्चित समुदाय लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको स्मरण गराउँदै आगामी दिनमा समेत त्यसलाई निरन्तरता दिइने प्रतिबद्धता जनाए ।

यसैवीच, मन्त्री पुनले बेलायत नेपालको पुरानो मित्र र महत्त्वपूर्ण वैदेशिक साझेदार चर्चा गर्दै हालसम्म गर्दै आएको सहयोगका लागि धन्यवाद दिएका छन् । काठमाडौंस्थित बेलायती दूतावासले लगानी सम्मेलन सफल पार्न खेलेको भूमिकाको पनि उनले सराहना गरे । अर्थमन्त्री पुनले नेपालले वैदेशिक लगानीलाई स्वागत गर्ने नीति लिएको जानकारी गराउँदै दोहोरो कर प्रणालीसहित अन्तर्राष्ट्रिय लगानीकर्ता र विकास साझेदारले उठाउँदै आएका सवाल सम्बोधन गरिने उल्लेख गरे ।

यस्तै उनले गत फागुनमा नेपाल-बेलायत मैत्रीसन्धि भएको शतवार्षिकीका अवसरमा नेपाल आएका बेलायतका विकास र अफ्रिका तथा राष्ट्रमण्डल हेर्ने मन्त्री एन्ड्रयु मिचेलले घोषणा गरेको सहयोग कार्यान्वनको चरणमा रहेको पनि जानकारी दिए । मिचेलले गत ८ फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको भेटमा बेलायतका तर्फबाट नयाँ विकास पोर्टफोलियोमार्फत नेपाललाई आगामी ६ वर्षभित्र ६६ अर्ब ६० करोड रुपैयाँ (४० करोड पाउन्ड) अनुदान दिने प्रतिबद्धता जनाएका थिए ।