|  

एसईईको आज पहिलो दिनः देशभर शान्तिपूर्ण रुपमा परीक्षा सम्पन्न

१५ चैत, काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को आज पहिलो दिन । आज अंग्रेजी विषयको परीक्षा सम्पन्न भएको छ । 

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले पहिलो दिनको परीक्षा देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाएको छ । आजबाट सुरु भएको एसईई परीक्षा २७ गतेसम्म चल्ने छ । परीक्षाका लागि २ हजार ६४ परीक्षा केन्द्र तोकिएका छन् । सबैभन्दा धेरै केन्द्र काठमाडौंमा (१२७) र सबैभन्दा कम मनाङ र मुस्ताङमा (एक-एक) वटा छन् ।

एसईई परीक्षाका लागि सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार ७ सय ७२ छात्रा, २ लाख ५३ हजार ६ सय २७ छात्र र यौनिक तथा लैंगिक अल्पसंख्यक १५ जना गरी कुल ५ लाख ४ हजार ४ सय १४ जना परीक्षार्थीले फारम भरेका थिए ।